६ वर्षपछि फ्रेन्च टिममा बेन्जिमाको पुनरागमन

स्ट्राइकर करिम बेन्जिमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्पले बेन्जिमालाई समेट्दै युरोकपका लागि २६ सदस्यीय फ्रेन्च टिमको घोषणा गरेका छन् ।

पछिल्लो केही वर्षयता उत्कृष्ट फर्ममा रहेका रियल मड्रिडका स्ट्राइकर बेन्जिमा सन् २०१५ यता राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका छन् ।

आफ्नै टिममेटलाई सेक्स टेप पठाएर ब्ल्याकमेल गरेको प्रकरणमा मुछिएपछि उनी त्यसयता राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका हुन् । सो प्रकरणपछि बेन्जिमालाई फ्रेन्च प्रधानमन्त्रीले नै टिमका नराख्न निर्देशन दिएका थिए । तर, बेन्जिमाले सो आरोप नकार्दै आएका छन्।

३३ बर्षीय बेन्जिमाले अन्तिम पटक सन् २०१५का अक्टोबर ८मा अर्मानियाविरुद्ध खेलेको थिए । उनले फ्रान्सका लागि ८१ खेल खेल्दै २७ गोल गरेका छन्। सन् २००९ देखि रियलमा आबद्ध रहेका उनले रियलका लागि ५५८ खेलमा २७८ गोल गरेका छन्।

जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा आयोजना हुने प्रतियोगिताका लागि प्रशिक्षक डेसच्याम्पले घोषणा गरेको टिममा बेन्जिमासँगै एन्टोइन ग्रिजम्यान, पाउल पोग्बा, एड्रियन राबिओट, जेसुआ कुन्डो, किलियन एम्बाप्पे, ओलिभर जिरुडलगायतले स्थान बनाएका छन् ।

युरोकपमा फ्रान्स ग्रुप अफ डेथका रुपमा रहेको समूह एफमा छ । यो समूहमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल, जर्मनी र हंगेरी छ। फ्रान्सले पहिलो खेल जर्मनीसँग १६ जुनमा खेल्ने छ भने दोस्रो खेल १९ जुनमा हंगेरी र तेस्रो खेल पोर्चुगलसँग २३ जुनमा खेल्ने छ।

यस्तो छ टिम

गोलकिपर : ह्युगो लोरिस, स्टिभ मान्डान्डा, मिक माइग्नन ।

डिफेन्डर : बेन्जामिन पवाड, लिओ डुबोइस, राफाइल भरान, प्रिसनल किम्पेम्बे, लुकास हर्नान्डेज, लुकास डिग्ने, क्लेमेन्ट लेन्गलेट, कुर्ट जुमा, जेसुआ कुन्डो ।

मिडफिल्डर : एनगोलो कान्टे, पाउल पोग्बा, एड्रियन राबिओट, कोरेन्टिन टोलिसो, मौसा सिसेको, थोमस लेमार ।

स्ट्राइकर : करिम बेन्जिमा, ओलिभर जिरुड, किलियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान, मार्कस थुराम, किंग्सले कोमन, विसमन बेन येडर, उसमान डम्बेले ।

Facebook Comments Box