विश्वविजेता फ्रान्सलाई स्विट्जरल्यान्डको चुनौति

जारी युरोकपमा आज राति अन्तिम १६मा दुई खेल हुँदै छन् । जसमा क्रोएसिया र स्पेन तथा फ्रान्स र स्विट्जरल्यान्ड भिड्दै छन्।

विश्वविजेता फ्रान्स र स्वीट्जरल्यान्डबीचको खेल राति १२ः४५ बजे रोमानियाको बुचारेस्टमा हुनेछ। फ्रान्स समूह एफको विजेता हो भने स्वीट्जरल्यान्ड समूह एकबाट उत्कृष्ट तेस्रो टिम हुँदै अन्तिम १६ पुगेको हो।

कठीन समूह रहेको फ्रान्सले समूह चरणमा आफ्नो क्षमता अनुसारका प्रदर्शन गर्न सकेको छैन। त्यसैले त ऊ समूह शीर्ष स्थानमा रहे पनि १ खेल मात्र जित्यो । स्विट्जरल्यानडविरुद्ध बुचारेस्टमा मैदानमा उत्रँदा फ्रान्सलाई युवा स्टार खेलाडी केलियन एम्बाप्पेको फर्मले भने सताउने छ। जारी युरोकपमा उनने एउटै गोल गर्न सकेका छैनन्।

२०१८ को विश्वकप विजेता फ्रान्सले समूह चरणमा जर्मनीलाई आत्मघाती गोलको साहारामा हराउँदा हंगेरी र पोर्चुगलविरुद्ध बराबरी खेल्यो। फ्रान्सले अहिलेसम्म चार गोल गरेको छ। स्विट्जरल्यान्डले समूह चरणको अन्तिम खेलमा टर्कीविरुद्ध ३–१ को जित निकालेर उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा स्थान बनाएको थियो।

फ्रान्सले स्विट्जरल्यान्डसँग अहिलेसम्म पराजय भोग्नु परेको छैन। दुई खेलमा फ्रान्स विजयी हुँदा चार खेल बराबरीमा सकिएका छन्। दुई टिमबीचको युरो २०१६ को समूह चरणको भिडन्त गोलरहित बराबरीमा सकिएको थियो।

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले घोषणा गरिरहेका छन्, ‘हाम्रा लागि अब नयाँ प्रतियोगिता सुरु भएको छ ।’ केलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र करिम बेन्जेमाका रूपमा डेसच्याम्पसँग आक्रमणको पर्याप्त विकल्प छ । यो आक्रमणले फ्रान्स विश्वकपपछि युरोपेली उपाधि जित्न सक्षम देखिन्छ ।

यो पनि पढ्नुहोस्ः ‘एम्बाप्पेको इगोका कारण फ्रान्सले युरोकप जित्न सक्दैन’

सन् १९९८ को विश्वकप विजेताले सन् २००० को युरोमा पनि यस्तो सफलता हात पार्न सकेको थिएन । अहिले त्यही सफलता दोहो¥याउने योजनामा छ फ्रान्स । त्यसका लागि बेन्जिमा र एमबाप्पेको जोडी जम्नु आवश्यक छ।

ठूला प्रतियोगितामा स्विटजरल्यान्डलाई अन्तिम १६ कटाउनै धौधौ परिरहेको छ। उ ठूला प्रतियोगितमा लगातार तीन पटक अन्तिम १६मै रोकिएको छ। अहिलेसम्म नकआउट चरणमा कुनै पनि खेल जित्न नसकेको स्विट्जरल्यान्डले विश्वविजेता चुनौति दिन सबैक्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ।

Facebook Comments Box