पोर्चुगल र फ्रान्सले बराबरी खेल्दा रोनाल्डोले बनाए दुई रेकर्ड

युरोपका ११ सहरमा जारी युरोकप २०२० मा दुई दाबेदार राष्ट्र पोर्चुगल र फ्रान्सले बराबरी खेलेका छन्। क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाले समान दुई गोल गरेको खेल २–२ कै बराबरीमा सकिएको थियो।

फ्रान्सविरुद्ध दुई गोल गर्दै रोनाल्डोले अन्तर्राष्टिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अलि दाइको रेकर्ड बराबरी गरेका छन्। दुवै जनाले आफ्नो देशका लागि १०९ गोल गरेका छन्।

यो पनि पढ्नुहोस्ः रोनाल्डोले बनाए सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड

खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। पोर्चुगलका डानिलो परेराविरुद्ध फ्रान्सका गोलकिपरले फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोले किलियन एम्बाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पनि पेनाल्टी पाएको थियो।

बेन्जेमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए। बेन्जेमाले नै दोस्रो हाफको दोस्रो मिनेटमै अर्को गोल थप्दै फ्रान्सलाई अग्रता दिलाए। तर, दोस्रो हाफको ६०औं मिनेटमा फ्रान्सका डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि पोर्चुगलले फेरि पेनाल्टी पाएका थियो।

दोस्रो पेनाल्टीमा पनि रोनाल्डोले गोल गर्दै पोर्चुगलको अन्तिम १६ सम्भावना जिवित राखे। दोस्रो गोलसँगै रोनाल्डोले अलि दाईको रेकर्ड बराबरी गरेका हुन्। यससँगै उनले युरोकप र विश्वकपमा गरि संयुक्त रुपमा २० गोल गर्ने एकमात्र खेलाडी बनेका छन्।

यो पनि पढ्नुहोस्ः क्वार्टरफाइनल प्रवेशका लागि जर्मनी र इंग्ल्यान्ड भिँड्ने

बराबरीका बावजुद फ्रान्स समूह विजेता बन्दै नकआउट चरण पुग्न सफल भएको छ। उसले समूह चरणका ३ खेलमा ५ अंक जोड्दै नकआउटमा प्रवेश गरेको हो। फ्रान्सले अब २९ जुनमा बुकारेस्टमा हुने प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ।

३ खेलमा ४ अंक जोड्दै समूह ‘एफ’को तेस्रो स्थानमा रहेर पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरको छ। पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि अब बेल्जियमको सामना गर्नेछ।

जारी युरोकप २०२० मा अपराजित रहेको बेल्जियम फिफा वरियता अनुसार विश्वको नम्बर १ टोली हो। प्रतियोगिताको सबैभन्दा प्रबल दाबेदार बेल्जियम समूह ‘बी’को विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको हो। ३ खेलमा ७ गोल गर्दा १ गोल खाएको बेल्जियम स्पष्ट ९ अंका साथ अन्तिम १६ मा प्रवेश गरेको हो।

Facebook Comments Box