बार्सिलोनाका मिडफिल्डर फ्रांक केसीइ साउदी प्रो लिगमा आबद्ध भएका छन्। २६ वर्षीय आइभोरी कोस्टका मिडफिल्डर साउदी प्रो लिग क्लब अल अहिलमा आबद्ध भएका छन्।
बार्सिलोनाका उनलाई भित्र्याउन अल अहिलले १५ मिलियन युरो खर्चियो। केसीइले अल अहिलसँग ३ वर्षको सम्झौता गरेका छन्, अब उनी सन् २०२६ सम्म त्यहाँ रहनेछन्।
पछिल्लो समय थुप्रै स्टार खेलाडीले साउदीलाई आफ्नो व्यवसायिक फुटबलको गन्तव्य बनाएका छन्। केसीइलाई भित्र्याउन इटालिनय क्लब युभेन्ट्सले पनि चासो देखाएको थियो, तर आकर्षक पारिश्रमिकका कारण उनले अल अहिल रोजेका हुन्।
केसीइ सन् २०२२ मात्रै फ्रि ट्रान्सफरमा एसी मिलानबाट बार्सिलोना आएका थिए। एसी मिलानमा आफूलाई स्थापित गरेका केसीइले बार्सिलोनामा भने पर्याप्त अवसर पाएनन्। उनले बार्सिलोनाका लागि ४३ खेल खेल्दै ३ गोल गरेका छन्।
त्यसअघि ५ सिजन एसी मिलानमा बिताउँदा उनले २२३ खेलमा ३७ गोल गरेका छन्। सन् २०२१–२२ मा एसी मिलानलाई सिरि ए च्याम्पियन बनाउने उनको भूमिका महत्वपूर्ण थियो।
सन् २०१४ देखि आइभोरी कोस्टका लागि खेलिरहेका उनले ६३ खेलमा ८ गोल गरेका छन्।
नयाँ सिजनका लागि अल अहिलले म्यान्चेस्टर सिटीबाट रियाद महारेज, लिभरपुलबाट रोबर्टो फिर्मिन्हो, न्युकासलबाट सेन्ट एलन म्याक्सिमा, चेल्सीबाट इडवार्ड मेन्टीलाई अनुबन्धन गरेकोछ।