फ्रेन्ड्ससँग हार्‍यो थ्री स्टार, सरस्वतीले खोल्यो अंकको खाता

उपाधि दाबेदार थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबसँग पराजित भयो । दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० ले पराजित भयो ।

यो पराजयसँगै थ्री स्टारलाई उपाधि होडमा ठूलो धक्का लागेको छ । थ्री स्टार ६ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ । ६ खेलमा १३ अंक जोडेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ भने समान १२ अंक जोडेको त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । लिगमा पहिलो जित निकालेको फ्रेन्ड्स भने ५ अंकका साथ ११औँ स्थानमा छ ।

फ्रेन्ड्सलाई लिगमा पहिलो जित दिलाउन ब्राजिलियन खेलाडी वांगर डी कार्नाेले निर्णायक गोल गरे । उनले १३औँ मिनेटमा विश्व अघिकारीको फ्रिकिकलाई हेडिङमा गोल गर्दै टिमलाई अग्रता दिलाएका दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनै गोल नहुँदा वांगरको सोही गोल निर्णायक सावित भयो । बल अधिकांश समय आफ्नो नियन्त्रणमा राखे पनि आक्रामण भने फ्रेन्ड्सले नै बढी गरेको थियो । खेलमा दुवै टिमका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसैगरी लिगमा सरस्वती क्लबले अंकको खाता खोलेको छ । आइतबार भएको खेलमा ब्रिगेड ब्वाइजलाई गोलरहित बराबरीमा रोक्दै सरस्वतीले लिग अंक तालिकामा खाता खोलेको हो । सरस्वतीले लिगको छैटौँ खेलमा पुगेर मात्र एक अंक जोडेको हो । लिगको पाँचौँ चरणसम्म सरस्वती एक्लो अंकविहीन टोली थियो ।

६ खेल खेल्दा एक अंक मात्र जोडेको सरस्वती १४ टोली समावेश रहेको लिग अंक तालिकाको पुछारमा छ । सरस्वतीसँगको बराबरीसँगै ब्रिगेडले कम्तीमा छैटौँ स्थानमा उक्लिने अवसर खेर फालेको छ । ६ खेलबाट सात अंक जोडेको ब्रिगेड आठौँ स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.