जर्मनीका लेजेन्डरी स्ट्राइकर गड मुलरको निधन

जर्मनी र बायर्न म्युनिखका लेजेन्डरी फुटबलर गड मुलरको मृत्यु भएको छ। बार्यन म्युनिखले आइतबार उनको मृत्यु भएको पुष्टी गरेको हो।

विश्वफुटबलका सर्वोत्कृष्ट फुटबलर मुलर २०१५ यता सिकिस्त विरामी थिए। अल्जाइमर रोग देखिएपछि त्यसयता उनी विशेष स्याहार गृहमा बस्दै आएका थिए।

मुलरलाई फुटबलले पाएको सबैभन्दा खतरनाक स्ट्राइकर मानिन्छ। उनले बायर्न म्युनिखका लागि ६०७ प्रतिस्पर्धात्मक खेलमा ५६६ गोल गरेका थिए। यस्तै, जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए।

मुलर बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले गरेको ३६५ गोलको रेकर्ड आजसम्म पनि कसैले तोड्न सकेको छैन। उनी सात सिजन बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता पनि बन्न सफल भएका थिए।

‘आज बायर्न म्युनिखको संसार स्थिर भएको छ। आइतबार बिहान ७५ वर्षको उमेरमा हामीले गड मुलरलाई सधैंका लागि गुमाएका छौं, क्लब र फ्यान सबै गड मुलरको शोकमा सन्तप्त छौं,’ बायर्नको आधिकारिक वेबसाइटमा प्रकाशित वक्तव्यमा लेखिएको छ।

मुलरले जर्मनीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै गोलको मद्दतमा जर्मनीले योहान क्रुफको नेदरल्यान्ड्सलाई पराजित गर्दै १९७४ को विश्वकप जितेको थियो। उनले जर्मनीलाई १९७२ को युरोकप (युरोपियन च्याम्पियनसिप) जिताउन फाइनलमा दुई गोल गरेका थिए।

‘गड मुलर नभएको भए बायर्न म्युनिख आजको अवस्थामा आइपुग्ने थिएन। आज तपाईं हामीले माया गर्ने बायर्न जे छ मुलरकै कारणले छ। उनी हाम्रो मनमस्तिष्कमा सधैं अमर रहने छन्,’ बायर्नले मुलरलाई श्रद्धाञ्जली दिँदै लेखेको छ।

Facebook Comments Box