खेलको अन्तिम समयमा गोल फर्काउँदै जर्मनी नकआउट पुग्न सफल

जारी युरोकप २०२० मा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। दुईपटक पछाडि परेको अवस्था उल्टाउँदै जर्मनीले खेल बराबरी गरेको हो।

एडम सेलाईले ११औं मिनेटमा गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए। ६६औं मिनेटमा गोल फर्काउँदै काइ हाभर्जले खेल बराबरी गर्न सफल भए। तर, त्यसको दुई मिनेट पनि बित्न नपाउँदै हंगेरी फेरि अग्रता लिन सफल भयो।

यो पनि पढ्नुहोस्ः रोनाल्डोले बनाए सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड

हंगेरीका लागि एन्द्रेस साफरले दोस्रो गोल गरेका थिए। ८४औं मिनेटमा लिओन ग्रोएज्काले गोल फर्काउँदै जर्मनीलाई समूह चरणबाटै घर फर्किनबाट जोगाउन सफल भए।

जितसँगै जर्मनीले जारी युरोकपको ‘ग्रुप अफ डेथ’ समेत रहेको समूह ‘एफ’को उपविजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ। अब जर्मनीले क्वार्टरफाइनल प्रवेशका लागि प्रतियोगिताको अर्को दाबेदार इंग्ल्यान्डको सामना गर्नेछ। ग्रुप ‘डी’को विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको इंग्ल्यान्ड र जर्मनीबीच २९ जुनमा लण्डनस्थित वेम्ब्ली स्टेडियममा खेल हुनेछ।

यो पनि पढ्नुहोस्ः अन्तिम १६ मै पोर्चुगल र बेल्जियमको भिडन्त पक्का

समूह चरणका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरेको हंगेरी भने अभागी साबित भएको छ। तीन दाबेदार राष्ट्र फ्रान्स, जर्मनी र पोर्चुगलसँगै ग्रुप अफ डेथमा परेको हंगेरीले उत्कृष्ट खेल खेल्दै तीनवटै टिमलाई कडा चुनौती दिएको थियो।

फ्रान्सलाई १–१ को बराबरीमा रोकेको हंगेरी पोर्चुगलसँग ३–० ले पराजित भएपछि तीन खेलबाट दुई अंकमात्र जोड्न सफल भयो। समुहको चौथो स्थानमा सिमित भएपछि हंगेरी समूह चरणबाटै घर फर्किन वाध्य भएको छ।

Facebook Comments Box