अन्तर्राष्ट्रिय फुटबलफुटबल

मैत्रीपूर्ण खेलमा जर्मनी जापानसँग पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी जापानसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा जर्मनी जापानसँग ४–१ ले पराजित भयो।

जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीमाथि सानदार जित निकालेको हो ।

खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए ।

इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए। त्यसपछि ९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४–१ को जित दिलाए ।

जर्मनीको पछिल्लो पाँच खेलमा यो चौथो पराजय हो भने सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६–० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार हो।

पछिल्ला १२ खेलमा जम्मा तीन खेल जितेको जर्मनीले ओमान, कोस्टारिका र पेरुलाई मात्र हराएको छ।