रियलको उपाधि होड कायमै, ग्रानडा ४-१ले पराजित

ला लिगाका अन्तिम दुई चरणका खेल बाँकी रहँदा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आफूलाई उपाधि होडमा कायमै राखेको छ। बिहीबार राति भएको खेलमा ग्रानडामाथि ४–१को सानदार जित निकाल्दै रियलले उपाधि होडमा एट्लेटिको मड्रिडलाई दबाब दिएको हो।

जितपछि ७८ अंकका साथ रियल दोस्रो स्थानमा उक्लिएको छ भने ८० अंक जोडेको एट्लेटिको शीर्ष स्थानमा छ । ७६ अंकका साथ बार्सिलोना तेस्रो स्थाना छ।

रियलले उपाधि जित्न अन्तिम दुई मध्ये एक खेलमा एट्लेटिकोले अंक गुमाउनु पर्ने छ भने आफूले दुवै खेल जित्नु पर्ने छ। रियलले अब एथ्लेटिको बिल्बाओ र भिल्लारियलसँग खेल्ने छ भने एट्लेटिकोले ओसासुना र रियल भालाडोलिडसँग खेल्नेछ।

ग्रानाडाको घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो, अल्भारो ओड्रिनोजोला र करिम बेन्जिमाले गोल गरे । ग्रानाडाका लागि जोर्गे मोलिनाले गोल गरे।

खेलको १७औं मिनेटमा गोल गर्दै मोड्रिचले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै अग्रता दोब्बर पारे।

७१औं मिनेटमा मोलिनाले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काउने प्रयास गरे । तर, खेलको ७५औं मिनेटमा ओड्रिओजोला र ७६औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

Facebook Comments Box