हजार्ड रियल जाने पक्का, घोषणा युरोपा फाइनलपछि

चेल्सीका बेल्जियन स्टार इडेन हजार्ड रियल मड्रिड जाने पक्का भएको छ । रियल मड्रिड र इडेन हजार्डबिच ट्रान्सफर सम्झौता भइसकेको फ्रेन्च पत्रिका ‘लेक्विप’ले जनाएको छ ।

चेल्सी र आर्सनलबिच हुने युरोपा लिग फाइनलपछि रियलले हजार्डलाई आफ्नो खेलाडीका रुपमा प्रस्तुत गर्ने सो पत्रिकामा उल्लेख छ । रुसमा सम्पन्न विश्वकपकै दौरान हजार्ड रियल जाने कुरो चलेको थियो । तर, रियलका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानले राजिनामा दिएपछि उनको ट्रान्सफरले मूर्तरुप पाउन सकेन ।

तर, सान्टियागो सोलारीलाई बर्खास्त गर्दै रियलले पूनः जिदानेलाई प्रशिक्षक नियुक्त गरेपछि हजार्ड रियल जाने निश्चित भएको हो । बेल्जियमका स्टार स्ट्राइकर हजार्ड जिदाने र रियल मड्रिड दुवैका प्रशंसक हुन् । हजार्डले पनि बारम्बार रियल मड्रिड सबै खेलाडीको ‘ड्रिम क्लब’ भएको बताउँदै ट्रान्सफरका विषयमा सकारात्मक संकेत दिँदै आएका थिए ।

हजार्डलाई रियलले १०० मिलियन युरोमा अनुबन्ध गर्न लागेको लेक्विपले बताएको छ । चेल्सीसँग एक वर्षकोमात्र सम्झौता बाँकी रहेका हजार्डले नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । जसकारण एक वर्षपछि फ्रि एजेन्टका रुपमा हजार्डजस्ता स्तरिय खेलाडीलाई सित्तैमा गुमाउनुभन्दा १०० मिलियनमा बेच्नु फाइदाजनक हुन्छ । रियलका लागि पनि हजार्डजस्ता ड्रिब्लिङ र फिनिसिङ दुवैमा अब्बल खेलाडी सो रकममा पाउनु फाइदामूलक कारोबार हो ।

बेल्जियमका कप्तान हजार्डले आफ्नो देशलाई विश्वकपमा सेमिफाइनलसम्म डोहोर्‍याएका थिए भने चेल्सी पनि उनकै प्रदर्शनको प्रेरणामा युरोपा लिगको फाइनलसम्म पुगेको छ । यस्तै, चेल्सीका लागि यस सिजन सर्वाधिक गोल गरेका हजार्डले इपिएल अंक तालिकामा तेस्रो बनाउँदै च्याम्पियन्स लिगमा छनोट पनि गराएका छन् ।

हजार्ड रियलमा आउने भएसँगै ला लिगाको रौनक बढ्ने भएको छ । जारी सिजनको सूरुवातमा क्रिस्टियानो रोनाल्डो रियल मड्रिड छाडेर इटालियन जाइन्ट युभेन्टस गएसँगै मेसीलाई टक्कर दिने खेलाडीको अभावले स्पेनिस एकतर्फी भएको थियो । तर, हजार्डको र मेसीको खेल्ने शैली उस्तै भएकाले अर्को सिजनको ला लिगा रोमाञ्चक हुनेमा दुईमत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *