हजार्डको स्वागत तालीले गुन्जियो मड्रिड

५० हजार रियल मड्रीड फ्यानले सान्टियागो बर्नबेउ थर्कमान हुने गरि ताली बजाए । स्टेजमा बेल्जियन स्टार इडेन हजार्डले माइक पकडेको थिए । उनी बोल्नै आँटेका थिए कि बर्नबेउमा उपस्थित फ्यानले उनको स्वागतमा सिंगो मड्रीड सहर नै गुन्जिने गरि ताली बजाए ।

भर्खरै रियलका अध्यक्ष फ्लोरेन्टिनोले आफ्नो मन्तव्य सकेर हजार्डलाई माइक थमाएका थिए ।

‘आज रियल मड्रीडको लागि एकदमै विशेष दिन हो । आज मैदानमा अलौकिक कौशल प्रदर्शन गर्न सक्ने विलक्षण प्रतिभाका धनी खेलाडी क्लबमा आउँदैछन ।’ पेरेजले हजार्डको परिचय यसरी सुरु गरेका थिए ।

‘विश्वका उत्कृष्ट खेलाडीले रियल मड्रीडको लेगेसी जारी राख्नेछन् । बर्चस्व कायम राख्नेछन् । हामी धेरै पहिले यो कुरा यसरी भन्न चाहन्थ्यौं, तर आज बल्ल साइत जुरेको छ, आजबाट इडेन हजार्ड रियल मड्रीडमा आबद्ध भएका छन् । उनको लागि सहि ठाउँ यहीं हो ।’ पेरेजले यति भनेर माइक हजार्डलाई दिएपछि तालीले बर्नबेउ गुञ्जायमान भएको थियो ।

‘धेरैधेरै धन्यवाद पेरेज । सधैं मलाई साथ दिएर मेरो हौसला बढाइदिनु भएकोमा मेरो परिवारलाई पनि धन्यवाद । तपाईहरु सबैलाई पनि धन्यवाद !’ हजार्डले भने ।

‘म रियलका लागि खेल्न एकदमै उत्साहित छु । अर्को महिना कहिले आउला भनेर पर्खिरहेछु । म रियलका लागि धेरैभन्दा धेरै ट्रफी जित्न चाहन्छु । वास्तवमा रियलबाट खेल्नु मेरो सानैदेखिको सपना थियो । त्यो तपाईहरु सबैलाई थाहा छँदै छ,’ हजार्डले यति भन्दा बर्नबेउमा तालीको अर्को लहर गुञ्जियो ।

हजार्ड १०० मिलियन युरोमा इंग्लिस क्लब चेल्सीबाट रियलमा आबद्ध भएका हुन् । स्टार खेलाडी रोनाल्डो युभेन्टस गएपछि आफ्नो लय गुमाएर गत सिजन लज्जास्पद प्रदर्शन गरेको रियलले आफ्नो बर्चस्व कायम गर्न हजार्डलाई अनुबन्ध गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.