वेल्समाथि सानदार जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा

१६औं संस्करणको युरोकपको क्वार्टरफाइनल पुग्ने पहिलो टिम डेनमार्क बनेको छ। शनिबार राति नेदरल्यान्ड्सको आम्स्टर्डममा भएको खेलमा वेल्समाथि ४–०को सानदार जित निकाल्दै डेनमार्कले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे भने जोकिम माहेल र मार्टिन ब्रेथवेटले पनि गोल गरे। डेनमार्कले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

२७ औं मिनेटमा डोलवर्गले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको सुरुआतमै डोलवर्डले नै गोल गरेपछि डनमार्कले वेल्समाथि २–०को अग्रता लियो। उनले ४८औं मिनेटमा वेल्सका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।

८८औं मिनेटमा जोहकिम मेइलले गोल गरेपछि डेनमार्कले ३–०को अग्रता लियो । उनले जेन्सनको पासमा वेल्सका दुई डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए । खेलको इन्जुरी समयमा ह्यारी विल्सनले सिधै रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटियो।

इन्जुरी समयको चौथो मिनेटमा ब्रेथवेटले गोल गर्दै टिमलाई ४–०को अग्रता दिलाए । सुरुमा उनको गोललाइृ लाइन्सम्यानले अफसाइड दिएका थिए । तर, भार मार्फत रेफ्रीले उक्त गोललाई मान्यता दिए ।

अब डेनमार्कले क्वार्टफाइनलमा आइतबार राति हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्ने छ।

Facebook Comments Box