‘मेसी ल्याएर पनि पिएसजीले च्याम्पियन्स लिग जितेन भने जिन्दगीमा कहिल्यै जित्दैन’

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले यसपटकको समर ट्रान्सफर विन्डोमा धमाका मच्चायो। युरोपियन फुटबलका एक-से-एक हस्ती खेलाडी आबद्ध गर्दै पिएसजी अहिले इतिहासकै सबैभन्दा बलियो टिम तयार गर्न सफल भएको छ।

यसैक्रममा पिएसजीमा आबद्ध भएका थिए, लियोनल मेसी। बार्सिलोनाबाट फ्रि ट्रान्सफरमा मेसी पेरिस क्लबमा आएसँगै पिएसजीको च्याम्पियन्स लिग जित्ने सम्भावना पनि आकाशिएको छ।

पिएसजी फ्रेन्च फुटबलको किर्तीमानी विजेता हो। अब उसलाई घरेलु फुटबलमा खासै रस छैन। केही वर्षदेखि च्याम्पियन्स लिग जित्दै युरोपको च्याम्पियन बन्ने होडमा लागेपनि पिएसजीले हरेक प्रयासमा असफलता मात्र पाइरहेको छ।

कहिले सेमीफाइनल, कहिले क्वार्टरफाइनल त कहिले फाइनलबाट बाहिरिँदै पिएसजी आफ्नो एकमात्र लक्ष्यबाट सधैं विमुख भइरहेको छ। तर, मेसी आएसँगै भने पिएसजी यस सिजनको सबैभन्दा प्रबल दाबेदारका रुपमा उभिएको छ।

यस्तै सोच अर्जेन्टिनाका सफल फुटबलर जुआन रोमन रिक्वेल्मेको पनि रहेको छ। बोका जुनियर्स, बार्सिलोना, भिल्लारियलजस्ता घगडान क्लबबाट खेलेको अनुभव भएका अर्जेन्टाइन फुटबलर रिक्वेल्मेले मेसी आएसँगै पिएसजीले च्याम्पियन्स लिग जित्ने सम्भावना आकाशिएको बताएका छन्।

रिक्वेल्मेले इएसपिएनसँगको अन्तर्वार्तामा यो सिजन च्याम्पियन्स लिग जित्ने सबैभन्दा धेरै सम्भावना भएको टिम पिएसजी भएको बताएका थिए। तर, मेसी ल्याएपछि पनि पिएसजीले च्याम्पियन्स लिग जित्न सकेन भने चाहिँ क्लबले युरोपको च्याम्पियन बन्ने सपना त्याग्नु नै बेस हुने राय पनि उनले व्यक्त गरे।

‘अहिले च्याम्पियन्स लिग जित्ने सबैभन्दा बढी सम्भावना पिएसजीकै देखिन्छ। मेसी आएपछि पहिल्यै देखिको बलियो टिम झन् छुनै नसकिने भएको छ,‘ उनले भनेका छन्, ‘तर, यदि पिएसजीले मेसीलाई क्लबमा ल्याएपछि पनि च्याम्पियन्स लिग जित्न सकेन भने चाहिँ जिन्दगीमा कहिल्यै पनि जित्दैन.. हाप्दे हुन्छ।‘

कुनैबेला अर्जेन्टिनाको सर्वाधिक सफलमध्येको टिम बोका जुनियर्सबाट खेलेका रिक्वेल्मे हाल सोही क्लबको उपाध्यक्ष छन्। मेसी विश्वको उत्कृष्ट खेलाडी भएको बताउँदै, उनको गुणस्तरको खेलाडी क्लबमा ल्याएर पनि च्याम्पियन्स लिग जित्न नसक्ने टिमले कहिल्यै जित्न नसक्नेमा उनले जोड दिए।

‘मलाई लाग्छ मेसीले पिएसजीबाट च्याम्पियन्स लिग जित्छन्। तर, अन्त्यमा सन्न्यास लिने बेलामा भने बार्सिलोनामै गएर सन्न्यास लिनेछन्। उनको लेगेसीका लागि त्यो सुन्दर पनि हुन्छ,‘ उनले अन्तर्वार्ताका क्रममा मेसीको भविष्य पनि अनुमान गर्न भ्याएका थिए।

हाल ३४ वर्ष पुगेका मेसी फ्रि एजेन्टका रुपमा पिएसजी गएका हुन्। फ्रेन्च क्लबसँग उनले दुई वर्षको सम्झौता गरेका छन्। पिएसजीसँगको सम्झौता सकिँदा उनी ३६ वर्षका पुग्नेछन्।

Facebook Comments Box