साफ च्याम्पियनसिपमा भारतको खराब प्रदर्शन, श्रीलंकासँग पनि रोकियो

साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारतले माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिपमा भने खराब प्रदर्शन गरेको छ । ५ टिम सहभागी प्रतियोगितामा भारत लातगार दुई खेलमा बराबरीमा रोकिएको छ।

पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको भारत बिहीबार भएको दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो। मालेस्थित नेसनल स्टेडियममा भएको खेल पूर्णतः भारतको नियन्त्रणमा रहे पनि गोल गर्न सकेन । भारतको दुई खेलबाट २ अंकमात्र छ । प्रशिक्षक इगोर स्टिमेक आएयता भारतको यो नवौं बराबरी हो ।

यो नतिजापछि श्रीलंका भने तीन खेलबाट एकै अंकमा सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंका आफ्नो सुरुआती दुई खेलमा बंगलादेश र नेपालसँग पराजित भएको थियो ।

भारत पहिलो खेलमा बंगलादेशसँग पनि बराबरीमा रोकिएको थियो । राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपाल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश ४ अंकमा दोस्रोमा छ । माल्दिभ्सले भने अंकको खाता खोलेको छैन । बिहीबारको दोस्रो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ ।

Facebook Comments Box