भारतका कप्तान सुनिल क्षेत्री भन्छन्– आमाको देश नेपालमा खेल्न पाउँदा असाध्यै खुसी लाग्छ

भारतीय फुटबल टिम अहिले नेपालमा छ। सुनिल क्षेत्रीको नेतृत्वमा रहेको भारतीय टिम साफ च्याम्पियनसिपको तयारीका लागि नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न सोमबार बेलुका नेपाल आइपुगेको हो।

नेपाल आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले आमाको देश नेपालमा खेल्न पाउँदै आफू सधैँ खुसी हुने बताए।

‘मेरा हजुरबा, हजुरआमा र आमा नेपालकै हुनुहुन्छ। त्यसैले नेपाल सधैं प्यारो लाग्छ। अझ यहाँ खेल्ने पाउँदाको खुसी बेग्लै हुनेगर्छ,’ सुनिलले भने।

सुनिल प्रष्टसँग नेपाली बोल्छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नेपाली सञ्चारकर्मीको जवाफ नेपालीमै दिएका थिए।

सुनिलले नेपालसँग खेल्न त्यति सहज नभएको बताए। उनले भने, ‘हामीले यसअघि नेपालसँग थुप्रै पटक खेलिसकेका छौं। नेपाल सँधैं बलियो छ र उसँग खेल्न कहिल्यै सहज हुँदैन।’ नेपाली फुटबलले पछिल्लो समय निकै राम्रो गरिरहेको पनि सुनिलले बताए।

‘नेपालमा आएर खेल्न पाउँदा व्यक्तिगत रुपमा म निकै खुसी र साथीहरु पनि खुसी हुनुहुन्छ। नेपालसँगको खेलको निकै ठूलो महत्व छ,’ सुनिलले भने, ‘कोभिड–१९ का कारण अहिलेको अवस्था निकै कठीन छ। यस्तो अवस्थामा पनि नेपालले आतिथ्य दिएर बोलाएको छ। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुशी लागेको छ।’

नेपालले सधैं राम्रो खेल्ने बताउँदै सुनिलले नेपाली टिम फर्ममा रहेको बताए। उनले एएफसी कपमा नेपाली त्रिभुवन आर्मी क्लबले राम्रो खेलेको उल्लेख गरे।

कोरोनाका कारण घरेलु लिग नभइरहेको कठीन अवस्थामा भारतीय टिमका लागि नेपालसँगको दुई मैत्रीपूर्ण खेल निकै महत्वपूर्ण भएको उनले बताए। उनले साफ च्याम्पियनसिपका लागि भारतीय टिमसँग दुई हप्तादेखि मात्र तयारी गरेका थिए।

‘यी दुई खेलपछि हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं । हाम्रा धेरै सिनियर खेलाडीले एएफसी कपमा खेलेका छन् । दुईवटा क्लबका ८ खेलाडी माल्दिभ्समा खेलिरहेका छन्, जसका कारण हामीले समयमा नै अभ्यास सुरु गर्न सकेनौं,’ उनले भने, ‘टोलीमा जुनियर खेलाडी छन्, उनीहरुले राम्रो गरिरहेका छन्। त्यसैले नेपालसँगको खेल महत्वपूर्ण छ।’

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भदौ १७ र २० गते दशरथ रंगशालामा आयोजना हुने छ। खेल साँझ ५:३० बजे सुरु हुने छ। मैत्रीपूर्ण खेल हिमालयन टेलिभिनले प्रत्यक्ष प्रशारण गर्ने छ।

सुनिलले महामारीको अवस्थामा सबै नेपालीलाई सुरक्षित भएर बस्न पनि आग्रह गरे।

Facebook Comments Box