सिरि एमा मिलानका दुवै क्लब विजयी, इन्टर शीर्ष स्थानमा, एसी दोस्रोमा

इटालियन सिरि एमा मिलानका दुई क्लब इन्टर र एसी विजयी भएका छन्। आइतबार राति भएको खेलमा इन्टर मिलानले लाजियोमाथि २–१को जित निकाल्दा एसी मिलानले भेनेजियामाथि ३–०को जित निकाल्यो ।

लाजियोलाई हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा ३० औं मिनेटमा एलेसान्ड्रो बास्टोनीको गोलमा इन्टरले अग्रता लियो । ३५औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ६७औं मिनेटमा मिलान स्क्रिनियरले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए । जितसँगै इन्टरले २० खेलमा ४९ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो। लाजियो ३२ अंक जोडेर आठौं स्थानमा छ ।

एसी मिलानले १० खेलाडीमा समेटिएको घरेलु टोली भेनेजियालाई ३–० ले हरायो । मिलानको जितमा थियो हर्नान्डेजले दुई तथा ज्लाटन इब्राहिमोभिचले एक गोल थपे।

खेलको दोस्रो मिनेटमा नै ज्लाटनको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो। ४८औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे।

५८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो। माइकल स्वोबोडा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसमै प्राप्त पेनाल्टीमा थियो हर्नान्डेजले गोल गर्दै टोलीको जित पक्का गरे।

जितसँगै मिलान २१ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थानमा छ पराजित भेनेजिया १७ अंक जोडेर १६औं स्थानमा छ।

Facebook Comments Box