युरोकपका ‘सर्वोत्कृष्ट खेलाडी’ डोनारुमा पिएसजीमा आबद्ध

युरोकप २०२० मा उत्कृष्ट प्रदर्शन गर्दै इटालीलाई च्याम्पियन बनाएका गोलकिपर जिआनलुइजी डोनारुमा फ्रेन्च टिम पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भएका छन्। युरोकपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ समेत जित्न सफल डोनारुमा यसअघि इटालियन क्लब एसी मिलानबाट खेल्ने गर्दथे।

२२ वर्षिय गोलकिपर डोनारुमाको एसी मिलानसँगको सम्झौता ३० जुनमा सकिएको थियो। सम्झौता सकिनु अगावै पिएसजीमा जाने सहमति गरेका डोनारुमाले सम्झौतामा हस्ताक्षर गर्दै औपचारिकता मात्र अहिले दिएका हुन्।

उनले पिएसजीसँग ५ वर्षको सम्झौता गरेका छन्। यससँगै उनी २०२६ सम्म पिएसजीमा रहने छन्। उनले वार्षिक १२ मिलियन युरो पारिश्रमिकका साथ बोनस पाउने पिएसजीले जनाएको छ। डोनारुमालाई अनुबन्ध गर्न पिएसजीसँगै बार्सिलोना पनि प्रयासरत थियो।

नापोलीको एकेडेमीबाट फुटबल खेल्न थालेका डोनारुमालाई एसी मिलानले २०१३ मा १४ वर्षको उमेरमै २ लाख ५० हजार युरोमा अनुबन्ध गरेको थियो। एसी मिलानका कप्तान समेत रहेका डोनारुमाले लिग र कप गरी कुल २५१ खेल खेलेका छन्।

यो पनि पढ्नुहोस्ः

बेल्जियमविरुद्ध इटालीका गोलकिपरले लगाएका थिए २८८ वटा ‘काँडा’ भएको पञ्जा

इटालीलाई च्याम्पियन बनाउने डोनारुमा युरोकपको सर्वोत्कृष्ट खेलाडी

Facebook Comments Box