युरोकपले बढायो इंग्ल्यान्डमा कोरोना, तेस्रो लहरको खतरा

अहिले समग्र विश्व नै फुटबलमय बनेको छ। त्यसमा पनि इंग्ल्यान्डमा युरोकपले छुट्टै खुसी ल्याएको छ, र इंग्लिस समर्थक त्यसमा झुमेका छन्। इंग्ल्यान्ड ५५ वर्षपछि कुनै पनि प्रतियोगिताको उपाधि नजिक छ भने पहिलो पटक युरोकप उपाधि जित्ने संघारमा छ । त्यसैले इंग्लिस समर्थक बढी खुसी छन्, फुटबलमा झुमेका छन्।

अझ युरोकपका खेलहरु पनि इंग्ल्यान्डमा भइरहेका छन्, त्यसले समर्थकमा उर्जा थप्ने काम गरेको छ। तर, युरोकपले इंग्ल्यान्डमा खुसीसँगै चिन्ता पनि थपेको छ। अहिले इंग्ल्यान्डमा कोरोना संक्रमणको दर बढ्न थालेको छ।

डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल पुगेपछि इंग्लिस समर्थकले सडकमै नाराबाजी गर्दै खुसीयाली मनाए। त्यसले इंग्ल्यान्डमा कोरोना संक्रमण ह्वात्तै बढाएको छ।

अहिले इंग्ल्यान्डमा पुरुष संक्रमितको संख्या बढी छ । पछिल्ला दुई सातामा इंग्ल्यान्डमा पुरुषमा कोरोना संक्रमण बढी देखिनुको मुख्य कारण युरोकप नै भएको इम्पेरियल कलेज लन्डनले उल्लेख गरेको छ। सो कलेजले गरेको अध्ययनले महिलाभन्दा पुरुषमा ३० प्रतिशत बढी संक्रमणको जोखिम रहेको पनि देखाएको छ।

जुनको सुरुमा ०.१५ प्रतिशत रहेको भाइरसको संक्रमणदर एक महिनाको अवधिमा बढेर ०.५९ प्रतिशत पुगेको छ। त्यसमा पनि ७५ वर्षभन्दा मुनिका र विशेष गरी युवाहरूमा सङ्क्रमणमा वृद्धि भएको छ। सङ्क्रमण हुनेहरूमा १.३३ प्रतिशत १३ देखि १७ वर्षका छन् भने १.४ प्रतिशत १८ देखि २४ वर्षका मानिस छन् । युरोकप आयोजना गरिहेको लन्डनमा सबैभन्दा उच्च सङ्क्रमण देखियो छ।

जुन २४ देखि जुलाई ५सम्म ४ हजार ७ सयबढी स्वयंसेवकमा गरिएको परीक्षणपछि इम्परियल कलेज लन्डनले इंग्ल्यान्डमा कोरोनाको तेस्रो लहर पुष्टि भएको बताइएको छ। सो अध्ययनले खोप लगाएकाहरू अरूभन्दा निकै कम जोखिममा रहेको देखिएको छ।

अध्ययन अनुसार फुटबल हेर्ने गर्दा पुरुषहरू अन्य समयमा भन्दा बढी सामाजिक गतिविधिमा संलग्न रहने भएकाले संक्रमणको जोखिम पनि बढेको उल्लेख गरेको छ।

Facebook Comments Box