युरोकप सेमिफाइनलः फाइनल प्रवेशका लागि कुनकुन देश भिड्दै छन्?

युरोपका विभिन्न ११ सहरमा जारी युरोकप २०२० को सेमिफाइनल समिकरण पुरा भएको छ। १२ जुनबाट १६ वटा देशबीच सुरु भएको युरोकपमा अब ४ टिम मात्र बाँकी छन्।

सेमिफाइनलसम्म आइपुग्दा तीनवटा दाबेदार मात्र बाँकि छन् भने अधिकांश दाबेदार टिम यसअघि नै बाहिरीसकेका छन्। तीन दाबेदार इंग्ल्यान्ड, इटाली र स्पेनका साथमा अन्डरडग टिम डेनमार्क पनि युरो सेमिफाइनलमा पुग्न सफल भएको छ।

फाइनल प्रवेशका लागि इटालीले मंगलबार राती १२ः४५ बजे स्पेनको सामना गर्नेछ भने अर्को दाबेदार इंग्ल्यान्डले अन्डरडग डेनमार्कसँग भिड्ने छ।

समूह एको विजेताका रुपमा नकआउट प्रवेश गरेको इटालीले क्वार्टरफाइनलमा प्रबल दाबेदार बेल्जियमलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाउन सफल भएको हो। ३२ खेलमा अपारजित रहेको इटालीले विश्व नम्बर १ टिम बेल्जियमलाई २–१ ले पराजित गरेको थियो।

उत्कृष्ट फर्म रहेको इटालीले युरोकप इतिहासको सर्वाधिक सफल टिम स्पेनविरुद्ध पनि आफ्नो अपराजित यात्रा कायम राखे उपाधि भिडन्त पक्का गर्नेछ। मध्यम सुरुवात गर्दै उत्कृष्ट लय समात्न सफल भएको स्पेनले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएर एक्स्ट्रा टाइममा समेत गोल हुन नसकिएपछि खेलको विजेता टाइब्रेकरबाट निर्धारण गरिएको थियो। पेनाल्टी सुटआउटमा स्पेन ३–ले विजयी भएको थियो।

यस्तै, बुधबार राती १२ः४५ बजे हुने खेलमा अर्को दाबेदार इंग्ल्यान्डले डेनमार्कसँग खेल्दैछ। युक्रेनविरुद्ध ४–० को प्रभावशाली जित निकाल्दै २५ वर्षपछि युरोकपको सेमिफाइनल प्रवेश गरेको इंग्ल्यान्डलाई होम मैदानको पनि फाइदा रहेको छ।

सेमिफाइनलपछिका सबै खेल वेलायतमै हुने भएकाले पनि इंग्ल्यान्डलाई ठूलो फाइदा हुने देखिन्छ। जारी युरोकपका सेमिफाइनल र फाइनल इंग्ल्यान्डको वेम्ब्ली स्टेडियममा हुनेछन्

यस्तै, डेनमार्क भने चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै अन्तिम १६ प्रवेश गरेको थियो। शनिबारै भएको खेलमा डेनमार्क विजयी भएको हो।

Facebook Comments Box