इटाली भर्सेस बेल्जियमः महाभीडन्तमा कसले मार्ला बाजी ?

युरोकपमा आज महाभीडन्त हुँदै छन्, जसमा उपाधिका दुई ठूला दाबेदार टिम इटाली र बेल्जियम भिड्ने छन्। राति १२ः४५ बजे सुरु हुने खेल जर्मनीको म्युनिखमा हुने छ।

इटाली र बेल्जियमबीचको यो भीडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ, किनभने दुवै टिम उत्कृष्ट लयमा भएका टिम हुन् । इटाली डिफेन्समा बलियो देखिएको छ भने बेल्जियमको मिडफिल्ड र अट्याकिङ निकै लयमा छ।

समूह चरणमा कुनै पनि गोल नखाई शतप्रतिशत जितसहित अन्तिम १६मा पुगेको इटालीले अन्तिम १६मा भने अस्ट्रियाविरुद्ध जित निकाल्न भने निकै मेहनत गर्नुपरेको थियो । उसले अस्ट्रियालाई एक्स्ट्रा टाइममा २–१ले हराएको थियो । यता, बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हरान पनि निकै मेहनत गर्नुपरेको थियो । पोर्चुगलविरुद्ध दबाबमा खेलेर पनि उसले १–०को जित निकालेको थियो।

इटाली र पोर्चुगलबीचको यो खेल क्वार्टरफाइनलकै सबैभन्दा महत्वपूर्ण खेल हो । किनभने गोल्डेन जेनेरेसको बेल्जियम नम्बर एक टिम हो भने पछिल्ला ३ वर्षमा अपराजित रहेको इटालीले पनि निरन्तर उत्कृष्ट फुटबल खेलिरहेको छ।

बेल्जियमलाई चोटको चिन्ता

बेल्जियम क्वार्टरफाइनल पुगेको खुसी त, सँगै चोटको पीडा पनि । इटालीविरुद्धको क्वार्टरफाइनलअघि उसलाई आफ्ना दुई स्टार खेलाडी इडेन हाजार्ड र केभिन डे ब्रुयनको चोटले सताएको छ।

दुवै खेलाडी अन्तिम १६को पोर्चुगलविरुद्धको खेलमा घाइते भएएका छन् । दुवै पुरासमय मैदान बिताउन सकेका थिएनन् । दुवैले इटाली विरुद्ध खेल्ने नखेल्ने अझै एकिन हुन सकेको छैन । प्रशिक्षक रोबर्टो मार्टिनेजले अन्तिम समयमा मात्र निर्णय गर्ने बताएका छन्।

डे ब्रुयनाले पोर्चुगलविरुद्ध दोस्रो हाफको सुरुमै खुट्टाको चोटले मैदान छाडे भने कप्तान हजार्डले खेलको अन्त्यतिर ह्याम्सट्रिङ चोट बोकेको थियो । बेल्जियम इटालीविरुद्धको खेलमा यी दुई खेलाडी उत्रने छन्, अथवा छैनन्, तिनको फिटनेस नतिजाको प्रतीक्षमा हुनेछ ।

बुधबार दुवै खेलाडीले अभ्यास गरेनन्, तर बेल्जियमको चिकित्सकीय टोलीले इटालीविरुद्धको खेलका लागि उनीहरूलाई तयार पार्न लगातार प्रयास गरिरहेका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले स्विकार गरिसकेका छन्, दुवै खेलाडी खेल अगाडि शतप्रतिशत तयार हुने छैनन् ।

इटालीको लय

इटली लगातार ३१ खेलमा अपराजित छ । पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खानुअघि इटलीले लगातार ११ खेलमा क्लिनसिट राखेको थियो । समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको थियो।

उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो । इटालीले सन् १९६८ मा युरोकप उपाधि जितेको छ भने सन् २००० र २०१२ मा उपविजेता बनेको छ।

हेड टु हेड

बेल्जियम र इटाली अलिहेसम्म १४ पटक आमने सामने भएका छन्, जसमा इटाली ६ खेलमा विजयी हुँदा बेल्जियम ४ खेलमा विजयी भएको छ । यी दुईबीचका ४ खेल बराबरीमा सकिएको छ।

यी दुई टिम नकआउट चरणमा पहिलो पटक भिड्न लागेका हुन् । यसअघि इटाली र बेल्जियम ठूला प्रतियोगितामा भने यी दुई टिम ५ पटक भिडेका छन् । जसमा इटालीले ३ खेल जितेको छ भने बेल्जियमले १ खेल जितेको छ, १ खेल बराबरीमा सकिएको छ।

Facebook Comments Box