सिमोनले २ पेनाल्टी रोक्दा स्पेन सेमिफाइनलमा, स्वीट्जरल्यान्ड बाहिरियो

गोलकिपर उनाइ सिमोनले २ पेनाल्टीले रोकेपछि स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन युरोकपको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ले हराउँदै स्पेनले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा गएको थियो । एक्स्ट्रा टाइममा पनि दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा स्पेनका मिकेल ओयासाबेल, जेराड मोरिनो र ड्यानी ओल्मोले गोल गरे । यता, स्वीट्जरल्यान्डका मारियो गाब्रानोभिचले मात्र गोल गर्न सके ।

स्पेनका कप्तान सर्जियो बुस्केट्सको प्रहार पोष्टमा लागेको थियो भने रोड्रीको प्रहार स्वीस गोलकिपर यान सोमरले रोकेको थिए । यता, स्वीट्जरल्यान्डका रुवेन भार्गासको प्रहार पोस्टमाथिबाट बाहिरिँदा फावियन सेसार र म्यानुअल एकान्जीको प्रहार स्पनेका किपर सिमोनले रोकेका थिए।

यसअघि खेलको ८औं मिनेटमै स्पेनले अग्रता लियो। जुर्डी अल्बाको प्रहार रोक्ने क्रममा स्वीस डिफेन्डर डेनिस साकारियाले आफ्नै पोस्टमा गोल गरेका थिए । ६७औं मिनेट कप्तान जद्रान सकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले रेमो फ्रेउलरको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल फर्काएको स्वीस टिम ७७औं मिनेटमा दश खेलाडीमा समेटिएपछि दबाबमा परेको थियो । स्पेनका जेरार्ड मोरेनोमाथि खराब ट्याकल गरेपछि स्वीट्जरल्यान्डका फ्रेउलरले रेडकार्ड पाएका थिए ।

त्यसपछि स्पेनले स्वीसटिममाथि निरन्तार दबाब दियो ।तर, गोल भने गर्न सकेन । स्पेनका ३–४ निश्चित गोलका अवसर स्वीट्जरल्यान्डका किपरल सोमरले उत्कृष्ट बताचाउ गरेका थिए ।

अब स्पेनले सेमिफाइनलमा इटाली र बेल्जियमबीचको विजेतासँग खेल्ने छ।

Facebook Comments Box