इरान बन्यो कतार विश्वकपमा छनोट हुने पहिलो एसियन टिम
इरान कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । विश्वकपको एसियाली छनोटअन्तर्गत बिहीबार राति भएको खेलमा इराकलाई १–०ले हराउँदै इरान विश्वकपमा छनोट हुने पहिलो एसियन टिम बनेको हो ।
तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए । यसअघि प्रशिक्षकसँगको विवादका कारण तारेमीलाई टिमबाट खेल्न दिइएको थिएन । तर प्रशिक्षक ड्राग स्कोकिचले इराकविरुद्धको खेलमा उनलाई मैदान उतारेका थिए ।
इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएको इरान न्युज एजेन्सीले जनाएको छ । ‘यो जितले इरानी जनतामा खुसीको लहर ल्यायो’ उनले भनेका छन् ।
तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ । हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ ।
एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।
यसै समूहको अर्को खेलमा लेवनानलाई १–० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ । यस्तै सिरियालाई २–० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ ।
यसैगरी छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४–० र जापानले चीनलाई २–० ले हरायो ।
जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।