यस्तो छ नेपालविरुद्ध खेल्ने इराकको उतारचढावपूर्ण फुटबल इतिहास ?

नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार राति इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल बसरा इन्टरनेशनल स्टेडियममा हुने छ। अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली टिम बुधबार इराक पुगेको थियो।

इतिहासलाई आधार मान्ने हो भने इराकी टिम नेपालभन्दा हरेक दृष्टिकोणमा अब्बल छ। तर, अलमुताइरीको प्रेरणामा रहेको नेपाली टिमले इराकलाई कठिन चुनौती दिन सक्नेछ।

विश्वकप छनोटका लागि तयारी खेलका रुपमा दुई देशले मैत्रीपूर्ण खेल हुन लागेको हो। छनोट चरणमा यो मैत्रीपूर्ण खेलको नतिजाभन्दा पनि प्रदर्शनले दुवै टिमका खेलाडीको मनोबल उच्च राख्न मद्दत गर्नेछ।

इराकको फुटबल इतिहास

इराक एसियान फुटबलकै सबैभन्दा सफल र स्तरीय टिममध्येमा पर्दछ। फिफा विश्वकप समेत खेलिसक्नुले त्यसलाई पुष्टि गर्छ। एसियाबाट विश्वकप खेल्ने केबल १० वटा मात्र देश छन्, इराक त्यो सौभाग्य सन् १९८६ मा पायो, र, विश्व फुटबलको महाकुम्भ मेलामा आफूलाई सहभागी गरायो।

यस्तै, इराकले एएफसी एसिया कप समेत जितेको छ। द्वन्द्वमा थलिएको देशलाई इराकी फुटबल टिमले २००७ को एसिया कप जितेर थोरै भएपनि राहत दिएको थियो। त्यसका लागि इराकी टिमले विश्वकै सबैभन्दा उत्कृष्ट टिम बन्दै ‘वल्ड टिम अफ द इयर‘को सम्मान पनि जितेको थियो।

वल्र्ड सकर म्यागाजिनले खेल भावना तथा प्रदर्शनका आधारमा क्लब तथा राष्ट्रिय टिमलाई प्रदान गर्ने यो निकै प्रतिष्ठित सम्मान हो। गत वर्ष बायर्न म्युनिखले यो सम्मान पाएको थियो त्यसअघि क्रमशः लिभरपुल, फ्रान्स तथा रियल मड्रिड विश्वको उत्कृष्ट टिम बन्न सफल भएका थिए।

२०१० पछि भने इराकले आफ्नो उत्कृष्ट लय कायम राख्न सकेन। लगातारको औसत प्रदर्शन र एकपछि अर्को प्रशिक्षक परिवर्तन गरिरहेको इराकी टिमले २०१० को दशक स्थिरताकै खोजीमा बितायो। २०१८ को अन्त्यतिर स्रेको कतानेकलाई प्रशिक्षक चयन गरेपछि भने इराकको टिम क्रमशः लयमा फर्किरहेको छ।

इराकको गोल्डेन जेनेरेशन

इराकी टिमले धेरै उतारचढाव देखेको छ। १९८० को दशकमा इराकको प्रतिनिधित्व गर्ने टिम इराकको पहिलो गोल्डेन जेनेरेशन थियो। पहिलो गोल्डेन जेनेरेशनले इराकलाई एसियन गेम्समा स्वर्ण पदक, गल्फ कप, अरब कपलगायत थुप्रै ट्रफी मात्र जिताएन, इतिहासमै पहिलोपटक विश्वकपमा समेत सहभागी गरायो।

तर, १९९० पछि भने इराकको टिम गल्फ युद्धको चपेटामा प¥यो, र आफ्नो लय गुमाउन पुग्यो। ९० को दशकलाई इराकी फुटबलको ‘डार्क एरा’ समेत मानिन्छ। २०००का सुरुवाती वर्षहरुमा पनि इराकी टिम आफ्नो लयमा फर्कन संघर्षरत नै रह्यो। त्यसपछि उदय भयो इराकको दोस्रो गोल्डेन जेनेरेशन।

दोस्रो गोल्डेन जेनेरेशनले इराकमा फुटबलको नयाँ लहर नै ल्यायो। पहिलो गोल्डेन जेनेरेशनले इराकलाई पहिलोपटक विश्वकपसम्म पु¥यायोे भने दोस्रो गोल्डेन जेनेरेशनले फिफा वरियतामा इतिहासकै उच्च विन्दुसम्म पु¥यायो। सन् २००४को फिफा वरियतामा इराक ३९औं स्थानमा थियो।

दोस्रो गोल्डेन जेनेरेशनले २००७ को एसिया कप जिताउँदै फिफा कन्फिडेरेसन कपमा समेत सहभागी गरायो। इराक एसियाको अर्को पावर हाउस साउदी अरेबियालाई फाइनलमा १–० ले पराजित गर्दै इराक एसियाको च्याम्पियन बनेको थियो। युद्धले थलिएको इराकले सबै व्यावधानलाई पन्छाउँदै हात पारेको यो विजयलाई अन्तर्राष्ट्रिय फुटबलको सर्वोत्कृष्ट ‘परिकथा‘मध्ये मानिन्छ। यही बेला थियो जब इराकी फुटबल टिमले ‘वल्ड सकर टिम अफ द इयर‘ जितेको।

नेपाली टिमले जस्तै इराकको टिमले पनि धेरै जोशिला समर्थक पाएको छ। इराकको दास्रो गोल्डेन जेनेरेशनको उदयसँग त्यहाँ फुटबल क्रेज चुलिएको थियो। युद्धले दिएको घाउ बिर्सिन फुटबलले ठूलो सहयोग गरेको थियो भने युद्धले छिन्नभिन्न भएको देशलाई फुटबलले नै जोडेको थियो। त्यसैले इराक र इराकीका लागि फुटबल केबल खेल मात्र होइन, यो उनीहरुको भावनाको पनि एकदमै नजिक छ।

फिफाको प्रतिबन्ध

इराक एसियाली फुटबलमा जति प्रभावशाली छ, उसको नियति त्यति नै दुर्भाग्यपूर्ण छ। जबजब इराकले उत्कृष्ट टिम पाएर एसिया हुँदै विश्व फुटबलमा प्रभाव जमाउन थाल्छ कुनै न कुनै कारण प्रतिबन्धको शिकार बन्ने गरेको छ।

पहिलो गोल्डेन जेनेरेशनले १९८६ को विश्वकपमा छनोट हुँदै इराकी फुटबलको स्वर्ण युगको थालनी गरेको थियो। अफसोच त्यो लामो समय टिक्न सकेन। इराकले कुवेतमा आक्रमण गर्दै त्यहाँ कब्जा गर्न खोजेपछि १९९० मा गल्फ वार सुरु भयो। गल्फ वार सुरु भएपछि फिफाले इराकलाई १९९५ सम्म ५ वर्ष फुटबल खेल्नै प्रतिबन्ध लगाइदियो।

प्रतिबन्ध फुकुवापछि लगभग दुई दशक संघर्ष गर्दै दोस्रो नयाँ जेनेरेशनको सहायतामा इराक फुटबललाई फेरि पहिलेकै लयमा फर्काउने मार्गमा अग्रसर थियो। तर, फुटबलमा सरकारी हस्तक्षेप भएको भन्दै फिफाले फेरि नोभेम्बर २००९ मा इराकलाई प्रतिबन्ध लगायो। सो प्रतिबन्ध मार्च २०१० मा फुकुवा भएको थियो।

प्रतिबन्धका अलावा इराकलाई ६ पटक घरेलु भूमिमा फुटबल आयोजना गर्न निषेध गरिएको छ। कहिले युद्ध त, कहिले सुरक्षाको कारण देखाउँदै इराकले आफ्नै भूमिमा फुटबल खेल्न पाएन। पहिलोपटक सन् १९८०मा इराकलाई आफ्नो देशमा प्रतिस्पर्धात्मक खेल आयोजना गर्न निषेध गरिएको थियो।

कुवेतविरुद्धको ओलम्पिक छनोटमा विपक्षीलाई पेनाल्टी दिएको भन्दै इराकी टिमका सदस्य तथा दर्शकहरुले रेफ्रिलाई कुटेपछि फिफाले इराकमा फुटबल आयोजना गर्न निषेध गरेको थियो। १९८२ मा फिफाले सो निषेध फुकुवा गरेको केही समयपछि इरान–इराक युद्ध सुरु भयो।

त्यसपछि इराकमाथि फेरि अर्को निषेध जारी भयो। न्युट्रल भेन्यूमा घरेलु खेल खेलेरै इराक मेक्सिकोमा भएको १९८६ को विश्वकप र तीनवटा ओलम्पिकमा छनोट भएको थियो। सो निषेधाज्ञा १९८८ मा हटाइएको थियो। त्यसको दुई वर्षपछि फेरि गल्फ युद्धका कारण प्रतिबन्ध खेपेको इराकी फुटबल टिमका फ्यानले घरेलु भूमिमा आफ्ना खेलाडीको खेल हेर्न सात वर्ष पर्खिनु परेको थियो।

२०१० मा प्रतिबन्ध फुकुवा भएको इराकलाई सुरक्षाका कारण भन्दै फिफाले २०११ मा फेरि फुटबल आयोजना गर्न निषेध गरेको थियो। दुई वर्षपछि मार्च २०१३ मा आंशिक रुपमा निषेधाज्ञा फुकुवा गर्दै फिफाले मैत्रीपूर्ण खेल आयोजना गर्ने अनुमति दिएपनि त्यसको तीन महिना नपुग्दै फेरि जुलाईमा अर्को प्रतिबन्ध लगायो।

२०१७ मा तीनवटा शहर बसरा, करबरा र एर्बिलमा मात्र मैत्रीपूर्ण फुटबल खेल्न पाइने गरि फिफाले आंशिक फुकुवा ग¥यो। मैत्रीपूर्ण खेलको सफल आयोजनापछि मार्च २०१८ मा तीन शहरमा प्रतिस्पर्धात्मक खेल पनि आयोजना गर्ने अधिकार इराकले पायो।

तर, २०१९ मा फेरि इराकमा विरोधको सिलसिला बढ्न थाल्यो। फिफाले अर्कोपटक पनि निषेध जारी ग¥यो। इराकका दर्शकले आफ्ना खेलाडीले घरेलु मैदानमा फेरि फुटबल हेर्न पाएनन्। २७ जनवरी २०२१ मा भने इराकमा ऐतिहासिक खेल भयो। १९८९पछि पहिलोपटक बगदादको बसरा इन्टरनेसनल स्टेडियममा इराकको टिमले कुवेतविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्यो।

अन्तर्राष्ट्रिय फुटबलमा मैत्रीपूर्ण खेलको खासै महत्व हुँदैन। धेरैले यसलाई वार्मअपका रुपमा मात्र पनि लिन्छन्। तर, कुवेतविरुद्धको त्यो खेल इराकका लागि केबल वार्मअप थिएन, ऐतिहासिक क्षण थियो। इराक, इराकी फुटबल र फुटबल फ्यानले राष्ट्रिय स्टेडियम सरहको बसरा स्टेडियममा फुटबल खेल्न तीस वर्षभन्दा बढी प्रतिक्षा गरेका थिए। इराकले सो खेल २–१ ले जित्दै तीस वर्षको प्रतिक्षाका लागि आफ्ना दर्शकलाई सुखद उपहार दिएको थियो।

२०२० पछिको समयलाई इराकी फुटबलमा नयाँ आशाको उदय भएको रुपमा मानिन्छ। इराकको प्रदर्शन हेर्दा यसमा शंका गर्ने ठाउँ पनि छैन।

इराकको पछिल्लो फर्म

इराकको फुटबल टिम लामो समयदेखि अपराजित छ। पछिल्लोपटक डिसेम्बर २०१९ मा पराजित भएको इराकले त्यसयता कुनै खेल पनि हारेको छैन। इराकले सो पराजय गल्फ कपको सेमिफाइनलमा बहराइनविरुद्ध भोगेको थियो, त्यो पनि टाइब्रेकरमा।

२०१९ यता इराकले विश्वकप छनोट, एसियाकप, गल्फ कप, मैत्रीपूर्णलगायत विभिन्न स्पर्धामा २८ खेल खेलेको छ। जसमध्ये केबल ४ मात्र पराजय बेहोरेको छ भने ९ बराबरी र १५ जित हात पारेको छ।

इराकले खेलेको पछिल्ला ५ प्रतिस्पर्धात्मक खेलहरुमा कुनैमा पनि पराजित भएको छैन। विश्वकप छनोटको समूह तीन अन्तर्गतका ति खेलहरुमा इराक बहराइनसँगका दुई खेलमा ०–० र १–१ मा रोकिएको थियो भने अन्य खेलमा हङकङलाई २–०, कम्बोडियालाई ४–० र चिरप्रतिद्वन्द्वी इरानलाई २–१ ले पराजित गरेको थियो।

यसैगरी, इराक आफ्ना पछिल्ला मैत्रीपूर्ण खेलहरुमा पनि अपराजित नै छ। युएई र ताजिकिस्तानसँग गोलरहित बराबरी खेलेको इराकले कुवेत तथा उज्वेकिस्तानलाई भने क्रमशः २–१ र १–० पराजित गरेको थियो।

नेपाल भर्सेस इराक हेड टु हेड

हाल फिफा वरियतामा इराक ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा रहेको छ। फिफा वरियताको यो फरकले पनि दुई देशको स्तरको भिन्नता केही हदसम्म देखाउँछ। त्यसैले इराकविरुद्धको खेल नेपालका लागि धेरै मानेमा महत्वपूर्ण छ।

यसअघि नेपाल र इराक तीनपटक आमनेसामने भएका छन् भने तीनैपटक इराकले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो। २३ नोभेम्बर १९८२ मा पहिलोपटक भिड्दा ३–० ले विजयी भएको इराकले १४ अप्रिल २००१ मा ९–१ को विशाल जित हात पारेको थियो। यस्तै, २३ अप्रिलमा भएको प्रतिस्पर्धामा इराकले नेपाललाई ४–२ले हराएको थियो।

एसियाको पावर हाउस इराकविरुद्ध नेपालले यसपटक युवा टोली उतार्दै छ। युवा टोलीसहितको नेपालका लागि इराकविरुद्धको खेल प्रयोग जस्तो देखिए पनि वास्तवमा निकै महत्वपूर्ण छ। तर नतिजाको हिसाबमा नभएर प्रदर्शनको हिसाबमा।

मैत्रीपूर्ण खेलहरु वास्तवमा जित्न भन्दापनि सिक्न नै खेलिने हुन्। इराकविरुद्धको खेल नेपाली खेलाडीका लागि आफ्नो कमजोरी पहिल्याउने अवसर पनि हो। इराकले पनि यसलाई युवा खेलाडीविरुद्ध आफ्नो अनुभव प्रयोग गर्ने अवसरकै रुपमा लिएको छ।

नेपाललाई इराकले बसरा इन्टरनेशनल स्टेडियममा स्वागत गर्दैछ। जसरी इराक र इराकी समर्थकका लागि प्रतिस्पर्धात्मक वा मैत्रीपूर्ण जुनसुकै खेलले पनि उत्तिकै महत्व राख्छ, नेपाली टिम र नेपाली समर्थकका लागि पनि हरेक खेल उस्तै महत्वपूर्ण हुन्छ।

दुवै टिम यो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मनोबल उच्च बनाउन चाहन्छन्। किनकी दुवै टिमका लागि यो खेल लगत्तै हुने विश्वकप छनोटको प्रतिस्पर्धा निकै नै महत्वपूर्ण छ। मैत्रीपूर्ण खेलबाट प्राप्त हुने अनुभव र मनोबलले छनोट खेलमा निकै ठूलो भूमिका खेल्नेछन्।

यसैगरी, दुवै टिमका समर्थकका लागि पनि यो खेलको महत्व ठूलो छ। दुवै देशका दर्शक यो खेलसँग भावनात्मक रुपमा जोडिएका छन्। त्यसैले खेलको नतिजाले खेलाडीलाई जति नै समर्थकलाई पनि असर पार्नेछ। तर, त्योभन्दा बढी प्रभाव भने आफ्ना खेलाडीले गर्ने प्रदर्शनले पार्ने निश्चित छ।

नेपालका प्रशिक्षक अलमुताइरीले नतिजा जेजस्तो भएपनि आफुहरुले सुन्दर फुटबल खेल्ने बताउँदै आएका छन्। पछिल्लो समय स्पष्टवक्ताका रुपमा नेपाली फुटबल समर्थकको वाहवाही पाउँदै धेरैको आशाका केन्द्र बनेका अलमुताइरीले मैदानमा भने कत्तिको मन जित्न सफल हुन्छन् त्यो भने इराकविरुद्धको खेलपछि नै थाहा हुने छ।

Facebook Comments Box