विश्वकप जित्न गाह्रो कि युरोकप ?

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो, फिफा विश्वकप । हरेक चार वर्षमा हुने फुटबलको यो महाकुम्भमा विश्वभरका उत्कृष्ट ३२ टिमले एक महिनासम्म एकअर्कासँग प्रतिस्पर्धा गरेपछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउँछ।

विश्वकपको पछिल्लो संस्करण सन् २०१८ मा रुसमा भएको थियो, जहाँ क्रोएसियालाई हराउँदै फ्रान्स विश्व च्याम्पियन बनेको भयो।

हाल युरोकप जारी छ । २०२० मा हुनुपर्ने युरोकप कोभिड–१९ महामारीका कारण एक वर्षपछि सरेको हो। युरोपका ११ वटा विभिन्न शहरमा आयोजना भइरहेको युरोकपका नकआउट चरणका खेल जारी छन्।

विश्वकप र युरोकप अन्तर्राष्ट्रिय फुटबलका सबैभन्दा ठूला दुई स्पर्धा हुन् । विश्वकपमा विश्वभरका उत्कृष्ट भिडेजस्तै युरोकपमा युरोपका उत्कृष्ट २४ टिमबीच प्रतिस्पर्धा हुन्छ।

जब युरोकपको नयाँ संस्करण सुरु हुन्छ, तब एउटा विषयले सधैं चर्चा पाउँछ– विश्वकप जित्न गाह्रो छ कि युरोकप? ठ्याक्कै उसको उत्तर दिन कठीन छ, तर तथ्य र तथ्यांकका आधामरा एउटाको पक्ष लिने धेरै छन्। अहिले सामाजिक सञ्जालहरुमा यो प्रश्नले चर्चा पाएको छ।

जाभी हर्नान्डेज, जेनारो गाटुसो, स्टुअर्ट पिअर्स, वेस्ली स्नाइडर, जोन बान्र्स, सोल क्याम्पबेललगायतका खेलाडीको धारणा विश्वकपभन्दा युरोकप जित्न गाह्रो हुने छ। यीमध्ये जाभी त्यस्ता खेलाडी हुन्, जसलाई यो विषयमा अलि बढी अनुभव हुनसक्छ । किनकी उनले विश्वकप र युरोकप दुवै जितेका छन्।

तर, यी धारणा साधारण बुझाइभन्दा ठीक विपरित छन्, किनभने युरोकप भनेको जम्मा एउटा महादेशका देशबीचको मात्र प्रतिस्पर्धा हो । जबकी विश्वकपमा सबै महादेशका च्याम्पियन देशहरू सहभागी हुन्छन्, जहाँ स्वतः युरोप पनि पर्छ।

ब्राजिलले सबैभन्दा धेरै ५ पटक, विश्वकप जितेको छ । त्यसोभए ब्राजिल सहभागी नहुने युरोकप जित्न कसरी विश्वकपभन्दा गाह्रो हुन्छ?

पोर्चुगल, इंग्ल्यान्ड र नेदरल्यान्ड्स युरोकपका सदाबहार दाबेदार राष्ट्र हुन्। तर, यी तीन युरोकप दाबेदार देशले संयुक्त रुपमा जितेको विश्वकप उपाधिभन्दा बढी उपाधि उरुग्वे र अर्जेन्टिनाले एक्लै जितेका छन्। त्यसोभए उरुग्वे र अर्जेन्टिनाले नखेल्ने युरोकप जित्न कसरी विश्वकपभन्दा गाह्रो भयो?

ब्राजिल, अर्जेन्टिना, उरुग्वेमात्र होइन एसिया, अफ्रिका, उत्तर तथा दक्षिण अमेरिकासहित युरोपकै पनि फुटबल पावर हाउस देशहरु सहभागी हुने विश्वकपभन्दा युरोकप जित्न कसरी गाह्रो हुन्छ ?

युरोकपको पक्षमा दिइने तर्कहरु स्वभाविक छन् । हरेक महादेशमा फुटबल नियमन गर्न फिफाअन्तर्गतका कन्फेडेरेसन रहेका छन् । फिफाका सदस्य राष्ट्रहरु आफ्नो महादेशका ति कन्फेडेरेसनका पनि सदस्य हुन्छन् । फिफाले हरेक कन्फेडेरेसनबाट निश्चित संख्यामा राष्ट्रिय टिमहरु विश्वकपका लागि छनोट गर्छ ।

नेपालले भर्खरै कुवेतमा एसियाली फुटबल कन्फेडेरेसन (एएफसी)को विश्वकप छनोट खेलेको थियो । नेपालले चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग दोस्रो चरणको छनोट खेल खेलेको हो । हरेक महादेशमा विश्वकपमा सहभागी हुनका लागि यस्ता छनोट प्रतियोगिता हुन्छन् । हरेक कन्फेडेरेसनले फिफाले छुट्याएको कोटा अनुसार विश्वकपका लागि टिम छनोट गर्छन् ।

एसियाबाट एएफसीले ४ वा ५, अफ्रिकाबाट सीएएफले ५, उत्तरी तथा मध्य अमेरिका र क्यारेबियन देशहरुबाट कोन्काकाफले ३ वा ४, दक्षिण अमेरिकाबाट कोन्मेबोलले ४ वा ५, ओसियानियाबाट ओएएफसीले बढीमा एउटा, युरोपबाट युइएफएले १३ र आयोजक राष्ट्रसहित विश्वकपमा कुल ३२ देश सहभागी हुन्छन् । सबै महादेशलाई समेट्न फिफाले यस्तो समावेशी मापदण्ड तय गरेको हो।

यो मापदण्डले तुलनात्मक रुपमा कमजोर कन्फेडेरेसनका राष्ट्रहरुले छनोट हुने अवसर पाउँछन् । जसले कमजोर देशहरुलाई पनि विश्वकपमा सहभागी हुने अवसर दिन्छ । तर, समावेशीताले प्रतिस्पर्धालाई भने स्वभाविक रुपमा फितलो बनाउँछ।

र, सोही मापदण्ड र फिफाको कोटाका कारण शक्तिशाली कन्फेडेरेशनका सशक्त राष्ट्रहरु भने छनोट चरणमै रोकिन बाध्य हुन्छन् । जसकारण विश्वकपमा ३२ टिम त सहभागी हुन्छन्, तर ति विश्वका सबैभन्दा शक्तिशाली टिम हुँदैनन्।

२०१८को विश्वकपमा इटाली र नेदरल्यान्ड्स छनोट हुन असफल भए । कोन्काकाफबाट पानामा र एसियाबाट साउदी अरेबिया भने सो विश्वकपमा छनोट भए। रुसमा भएको सो विश्वकपमा सबैभन्दा कमजोर प्रदर्शन गर्नेमा तिनै पानामा र साउदी थिए।

तर, तथ्यांक र प्रदर्शनका आधारमा हेर्दा विश्वकपमा छनोट भएका पानामा र साउदी अरेबियाभन्दा छनोट हुन असफल इटाली र नेदरल्यान्ड्सले धेरै राम्रो फुटबल खेल्थे र प्रतियोगितामा उपाधिकै दाबेदार बन्ने क्षमता राख्थे।

तर, विश्वकपको विपरित, युरोकपमा भने भुराभुरी देशहरुले सहभागी हुने मौका पाउँदैनन् । जसले प्रतियोगितालाई सुरुदेखि नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउँछ ।

युरोकपको समूह चरणमा भन्दा विश्वकपको समूह चरणमा धेरै खेलहरु फितला हुन्छन् भन्दा अत्युक्ति नहोला । फुटबलका डाइ–हार्ट फ्यान बाहेक धेरै दर्शकले विश्वकपको समूह चरणका अधिकांश खेलहरु नहेर्ने गरेको तथ्यांकले पनि त्यसलाई पुष्टी गर्छ। विश्वकप र युरोकपको समूह चरणका खेलहरु हेर्दा पनि विश्वकपका फिक्स्चरहरु वास्तवमै असन्तुलित थिए भन्ने बुझ्न सकिन्छ।

१९५४ विश्वकपमा हंगेरीले दक्षिण कोरियालाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो । १९८२ मा हंगेरीले नै एल साल्भाडोरलाई १०–१ ले पराजित गरेको थियो । यस्तै, १९७४ मा युगोस्लाभियाले जायरविरुद्ध ९–० को एकपक्षीय जित निकालेको थियो ।

तर, युरोकपको इतिहासमा भने कुनैपनि टिमले ५ गोलभन्दा बढी गोलअन्तरको जित निकालेको रेकर्ड छैन । जर्मनीले ब्राजिललाई विश्वकपको सेमीफाइनलमा ७–१ ले पराजित गरेको थियो । तर, युरोमा आजसम्म कुनैपनि टिमले एउटै खेलमा ६ गोलभन्दा बढी गोल गर्नै सकेका छैनन्। जबकी १९८२ को विश्वकपमा हंगेरीले एल साल्भाडोरविरुद्ध २६ मिनेटमै ६ गोल गरेको थियो ।

विश्वकप र युरोकपमा अहिलेसम्म सहभागी भएका कमजोर टिमको सूची बनाएर तुलना गर्ने हो भने तिनीहरुबीच निकै ठूलो भिन्नता देखिने निश्चित छ । पछिल्लो समय युरोप र दक्षिण अमेरिका बाहेकका क्षेत्रहरुमा पनि फुटबलको गुणस्तर बढिरहेको छ । जसले गर्दा क्रमशः त्यो भिन्नता घट्दो छ । यद्यपि, अझैपनि भिन्नता स्पष्टै देख्न सकिन्छ।

युरोकप २०२० मा सहभागी कम वरीयताका देशमा फिनल्यान्ड र नर्थ मेसोडोनिया पर्छन् । दुवै देश पहिलोपटक युरोकपमा छनोट भएका हुन् । तर, विश्वकप २०१८ मा सहभागी सबैभन्दा कम वरियताका देशहरु जस्तै, पानामा र साउदी अरेबियाभन्दा फिनल्यान्ड र नर्थ मेसोडोनियाले धेरै उत्कृष्ट फुटबल खेल्छन् । यो उनीहरुले भर्खरै सम्पन्न युरोकपका समूह चरण्मा साबित गरिसकेका छन् । त्यसैले, विश्वकपभन्दा युरोकपमा कडा प्रतिस्पर्धा हुन्छ भन्ने तर्कमा सहमत हुन सकिन्छ ।

तर, अहिले युरोकप जति प्रतिस्पर्धात्मक छ २०१६ अघि त्योभन्दा कैयौं गुणा बढी प्रतिस्पर्धात्मक थियो । युइएफएले धेरै देश समेट्नका लागि २०१६ बाट युरोमा २४ देश सहभागी हुन पाउने प्रावधान ल्यायो । त्यसअघि युरोपका १६ एलिट टिमले मात्र युरोकप खेल्थे।

त्यसैले, २४ वटा देश समावेश हुनुले प्रतियोगितामा सहभागी टिमको समग्र गुणस्तरमा ह्रास आएको छ भने प्रतिस्पर्धा पनि स्वभावतः केही हदसम्म कमजोर भएको छ । सहभागी देशको संख्या बढेसँगै प्रतियोगिताको फर्म्याट पनि परिवर्तन गरिएको थियो । सहभागी संख्या र फर्म्याटको परिवर्तनले ‘विश्वकपभन्दा युरोकप जित्न गाह्रो छ’ भन्ने दाबीलाई कमजोर बनाएको छ ।

विश्वकपभन्दा युरोकप जित्न गाह्रो छ भन्ने दाबीको पक्षमा यस्ता तर्क गरिन्छन्ः

◉ युरोकपमा समूह चरणबाटै हरेक सहभागी टिमबीच कडा प्रतिस्पर्धा हुन्छ।

◉ हरेक सहभागी देशमा युरोपका टप लिगका स्टार खेलाडी हुन्छन्।

◉ युरोपियन फुटबलमा कौशल र क्षमता मात्र होइन मानसिक र शारिरिक सशक्तता पनि महत्वपूर्ण हुन्छ।

◉ एक महिना चल्ने प्रतियोगिताका हरेक खेल फाइनल सरह प्रतिस्पर्धात्मक हुन्छन्।

यी सबै तर्क सही हुन् । तर, मुख्यतः २०१२ र त्यसअघिको युरोकपको फर्म्याटमा । त्यसबेला १६ वटा टिमलाई ४ समूहमा विभाजन गरिएको हुन्थ्यो । समूह चरणका खेलपछि हरेक समूहबाट दुई–दुईवटा टिममात्र अगाडि जान्थे र सोझै क्वार्टफाइनल खेल्थे।

उदाहरणका लागि २०१२ को युरोकपलाई हेरौं । युरो २०१२ मा आयरल्यान्डमात्र एउटा तुलनात्मक रुपमा कमजोर टिम थियो । तर, त्यसबेलाको आयरल्यान्डको टिम अहिलेको भन्दा धेरै सशक्त थियो । सो प्रतियोगिताका कुनैपनि खेलमा ठूलो अन्तरको जित पनि निस्किएन । स्पेनले आयरल्यान्डलाई ४–० र रुसले चेक रिपब्लिकविरुद्ध निकालेको ४–१ को जित नै सबैभन्दा फराकिलो अन्तरको जित थियो।

वास्तवमा रुस र चेक रिपब्लिकबीचको खेलले त्यसबेलाको युरोकपको स्तरलाई अझ राम्रोसँग दर्शाउँछ । आफ्नो पहिलो खेलमा रुससँग ४–१ ले पराजित भएपनि चेक रिपब्लिक समूह विजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । जबकी फराकिलो अन्तरको जित निकालेको रुस ग्रीससँग हेड–टु–हेडमा पछि पर्दै समूह चरणबाटै बाहिरिएको थियो ।

२०१२ र त्योभन्दा अघिको युरोकपलाई विश्वकपसँग तुलना गर्ने हो भने दुई प्रतियोगिताको स्तरबीच दिन र रात जत्तिकै फरक थियो । सहभागी देशको संख्या बढाउनु अघिको युरोकपको इतिहासमा सबैभन्दा फितलो प्रदर्शन गरेको टिम भनेकै २०१२ को आयरल्यान्ड हो । जबकि विश्वकपमा सहभागी धेरै देशभन्दा आयरल्यान्ड स्तरीय टिम थियो ।

त्यसैले, २०१६ अघिका युरोकपका सन्दर्भमा भन्नुपर्दा चाहिँ युरोकप विश्वकपभन्दा धेरै गुणा प्रतिस्पर्धात्मक थियो । र, वास्तवमै विश्वकप भन्दा युरोकप जित्न गाह्रो हुन्थ्यो । तर, अहिलेको अवस्थामा भने यो दाबी गर्न सकिँदैन।

नयाँ फर्म्याटको युरोकप र विश्वकप जित्ने टिमले एक महिनाको अवधिमा कुल सात खेल खेल्छ । तथ्यांकलाई आधार मानेर कुनैपनि सात विपक्षीको औसत क्षमता मापन गर्ने हो भने चाहिँ विश्वकपभन्दा युरोकपका विपक्षी केही कठिन हुन्छन् नै । किनकि विश्वकपको समूह चरणका खेल धेरै सहज हुन्छन्, त्यसमा दुई मत छैन ।

तर, विश्वकपमा आफ्ना समूह चरणका खेल सकाएर माथि उक्लने क्रममा नकआउट चरणका क्वार्टरफाइनल, सेमिफाइनल खेलसम्म पुग्दा ब्राजिल, अर्जेन्टिना, उरुग्वेलगायतका प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने हुन्छ । यी पूर्वविश्व विजेता टिम मात्र होइनन्, लगभग हरेक संस्करणका विश्वकप दाबेदार पनि हुन्।

यी टिमलाई हराउन कदापि सजिलो छैन । न त यिनले दिने चुनौती नै सहज हुन्छ । त्यसैले, विश्वकपका समूह चरणमा सहज प्रतिस्पर्धी परेर खेलको रोमाञ्चकता केही कम भएपनि नकआउट चरणमा सामना गर्नुपर्ने विपक्षीको चुनौतिले त्यसलाई ब्यालेन्स गरिदिन्छ।

त्यसमाथि युरोकपमा २४ टिम सामेल भएसँगै लागू भएको नयाँ फर्म्याट अनुसार नकआउट चरणमा १६ टिम पुग्नेछन् । समूहका शीर्ष दुई स्थानका १२ टिम सोझै नकआउट चरणमा पुग्छन् भने हरेक समूहको तेस्रो स्थानमा रहने टिममध्येबाट शीर्ष ४ टिमले पनि प्रिक्वार्टलफाइनलमा स्थान बनाउछन्।

अन्तिम १६ का टिमबीचको भीडन्तबाट क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा मात्र ८ वटा टिम नकआउट हुने गर्छन् । युरोकपको डिफेन्डिङ च्याम्पियन पोचुर्गल पनि आफ्नो समूहमा तेस्रो हुँदै नकआउट चरण प्रवेश गरेको थियो।

त्यसैले, २०१६ अघिको युरोकपमा जस्तो अहिलेको नयाँ फर्म्याटमा सुरुबाटै हरेक खेल मरिमेटेर खेल्नुपर्छ भन्ने छैन । एक खेल अगावै अधिकांश टिमले नकआउटमा आफ्नो स्थान सुरक्षित गरिसकेका हुन्छन् । उनीहरुले आवश्यकता अनुसार र समीकरण हेरेर आफ्ना महत्वपूर्ण खेलाडीलाई एक खेलमा आराम दिन सक्छन् । जसकारण युरोकप सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिता हो भन्ने दाबीलाई उसकै फर्म्याटले गलत साबित गरिदिन्छ।

युरोपियन फुटबलका समर्थकलाई २०१८को विश्वकपले भने युरोकप नै फुटबलको सबैभन्दा खतरा प्रतियोगिता हो भन्नेलाई बल प्रदान गरेको थियो । रुसमा भएको विश्वकप २०१८ मा युरोपबाहिरका कुनैपनि टिम क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेनन् । यसैलाई मुख्य तर्कका रुपमा प्रस्तुत गर्दै युरोप र युरोपियन फुटबल नै विश्व फुटबलको महारथि भएको दाबी गर्नेको संख्या कमी छैन।

२०१८को विश्वकपलाई मात्र मूल्यांकनको आधार मान्ने हो भने युरोकपलाई सबैभन्दा कठिन प्रतिस्पर्धा मान्न पनि सकिएला । तर, २१ वटा विश्वकप प्रतियोगिताको ९१ वर्ष लामो इतिहासलाई एउटा संस्करणका आधारमा मूल्यांकन गर्नु कति उचित होला! २०१८को विश्वकपमा देखिएको युरोपको दबदबा न त विश्वकपको इतिहासको सार हो, न त यसको अपरिवर्तनीय भविष्य नै।

धेरै पछाडि पनि जानुपर्दैन, २०१४ को विश्वकप मात्र हेर्ने हो भने पनि यो दाबीलाई गलत साबित गर्ने तथ्यांक भेटिन्छन् । विश्वकप २०१४ को क्वार्टरफाइनल र सेमिफाइनलका आधा टिम युरोपबाहिरका थिए भने फाइनलमा पनि युरोप र दक्षिण अमेरिकी टिमबीच प्रतिस्पर्धा भएको थियो।

२०१४ को विश्वकपमा ग्रुप–‘जी’बाट पोर्चुगललाई पछि पार्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको थियो । त्यसको दुई वर्षपछि पोर्चुगलले २०१६ को युरोकप जित्न सफल भएको थियो । अर्थात्, पोर्चुगललाई युरोकप जित्नभन्दा विश्वकपको समूह चरण छिचोल्न गाह्रो भयो ।

२०१४ विश्वकपको ग्रुप–‘डी’बाट कोस्टारिका र उरुग्वेले नकआउट चरणमा प्रवेश गर्ने क्रममा पनि युरोपका महारथी राष्ट्र इटाली र इंग्ल्यान्डलाई समूह चरणबाटै घर फर्काएका थिए । त्यसैले, २०१८ र त्यसपछिको समयलाई विश्व फुटबलमा युरोप हाबी भएको समय मान्नु अत्युक्ति हुने छैन । तर, सधैं यस्तै रहन्छ भनेर कसैले ठोकुवा गर्न भने सक्दैन ।

यद्यपी, यसपटकको युरोकपलाई हेर्ने हो भने वास्तवमै युरोकप जित्न निकै कठिन देखिन्छ। युरोपका फुटबल महाशक्तीहरु भिँड्ने यो प्रतियोगितामा हरेक देशले स्टार खेलाडी भएको टिम उतारेका छन्। कुनै टिम कोही भन्दा कम छैनन्।

जारी युरोकपका दाबेदार टिमको नाम लिँदा ककसको नाम आउँछ? फ्रान्स, पोर्चुगल, जर्मनी, स्पेन, बेल्जियम, नेदरल्यान्ड्स, इंंग्ल्यान्ड र इटाली नै सदाबहार दाबेदार हुन्। जसमध्ये फ्रान्स विश्वकप च्याम्पियन हो भने पोर्चुगल युरोकपकै डिफेन्डिङ च्याम्पियन।

नेदरल्यान्ड्सले स्टार खेलाडी एरिक्सन बिना युरोकप खेलिरहेको डेनमार्कको चुनौती सामना गर्न सकेन। समूह चरणमा तीनवटै खेल जितेर प्रभावशाली सुरुवात गरेको डच टिम नकआउटको पहिलो खेलबाटै घर फर्किसकेको छ।

यस्तै, डिफेन्डिङ च्याम्पियनका नाताले पोर्चुगल फाइनल नभएपनि कम्तिमा सेमिफाइनल त पुग्नुपर्ने थियो। तर, उत्कृष्ट खेलका बावजुद क्रिस्टियानो रोनाल्डोको पोर्चुगल प्रिक्वार्टरफाइनलमै अर्को दाबेदार बेल्जियमसँग पराजित हुँदै घर फर्किएको छ।

यस्तै, विश्वकप २०१८ जितेको फ्रान्स पनि यसपटकको युरोकपबाट बाहिरिसकेको छ। स्विट्जरल्यान्डविरुद्धको सनसनीपूर्ण खेलमा विश्वविजेता फ्रान्स टाइब्रेकरमा ५–४ ले पराजित हुँदै प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो। फ्रान्स विश्वकप विजेता मात्र थिएन, गत संस्करणको युरोकप फाइनलिस्ट पनि थियो।

विश्वकप जितेको टिमले किन युरोकपको एउटा पनि नकआउट खेल जित्न सकेन? स्विट्जरल्यान्डजस्तो युरोकपको दाबेदारमा समेत नगनिएको देशसँग पराजित हुँदै किन बाहिरिन पुग्यो? विश्वकप जित्नेमात्र होइन, फ्रान्सलाई विश्वकप फाइनलमा उपाधीका लागि चुनौती दिने क्रोएसिया पनि स्पेनसँग ५–३ ले पराजित हुँदै एकैदिन घर फर्किन वाध्य भयो।

हो, वास्तवमै युरोकप सबैभन्दा कठीन र प्रतिस्पर्धात्मक प्रतियोगिता हो। यहाँ केही खेलमा अपेक्षा अनुरुप नतिजा आएपनि धेरै खेल अप्रत्यासित नै हुने गरेका छन्। सानो टिम भनेर कसैलाई कम आँक्न मिल्दैन। हरेक टिम दाबेदार नभएपनि सबै टिमले हरेक दाबेदारलाई पराजित गर्न सक्ने क्षमता राख्छन्।

त्यसैले, सुरुमा उल्लेख गरेझैं जाभी हर्नान्डेजले विश्वकपभन्दा युरोकप जित्न गाह्रो थियो भन्नु गलत थिएन। किनकि उनले स्पेनबाट खेल्ने क्रममा विश्वकप र युरोकप दुवै जितेका थिए। २०१० मा स्पेनलाई विश्वकप जिताएका जाभी २००८ र २०१२ मा युरो च्याम्पियन बन्दा स्पेनको मिडफिल्डका मुख्य सदस्य थिए। दुवै प्रतियोगिता जितेका जाभीलाई यो विषयमा पक्कै अरुलमई भन्दा बढी थाहा हुन्छ।

अन्त्यमा…
बदलिएको फर्म्याटमा युरोकप केही हदसम्म सजिलो पक्कै देखिएको छ। तर, समूह चरणपछिका हरेक खेल फाइनलभन्दा कम चुनौतीपूर्ण हुँदैनन्। युरोकपमा रोमाञ्चक खेल हेर्न सेमिफाइनल कुर्नु पनि पर्दैन, न त ग्रुप अफ डेथ कै खेल पर्खिनु पर्छ।

युरोकप सनसनीपूर्ण खेलसहित सुरु हुन्छ र सनसनी मच्चाएरै सकिन्छ पनि। विश्व च्याम्पियन तथा युरोकप फाइनलिस्ट फ्रान्स, विश्वकप फाइनलिस्ट क्रोएसिया, डिफेन्डिङ च्याम्पियन पोर्चुगल र दाबेदार नेदरल्यान्ड्स पहिलो नकआउट खेलबाटै बाहिरिनु त्यसको राम्रो उदाहरण हो।

Facebook Comments Box