१५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ। इटहरी रङ्गशालामा प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले गरेका छन्।
उद्घाटनसँगै सम्पन्न भएको पहिलो खेलमा आयोजक टोली पराजित भएको छ । पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए भने आयोजक टोलीका लागि विदेशी खेलाडी एलेक्सले गोल गरे।
प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५औँ बुढासुब्बा गोल्डकपका विजेता एनआरटी क्लब काठमाडौँबिच प्रतिस्पर्धा हुनेछ ।
फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोलीको सहभागिता रहेको आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ।
सहभागी टोलीहरूमा भारतको यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, झापा एघार फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति क्लब, एनआरटी क्लब काठमाडौँ, सगरमाथा यूथ क्लब मोरङ र धरान फुटबल क्लब छन्।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उप–विजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ।