झापा एफसीको बन्द प्रशिक्षण हेटौँडामा

सी डिभिजन लिग छनोटका लागि झापा एफसीले हेटौंडामा बन्द प्रशिक्षण सुरु गरेको छ। सी डिभिजन लिग छनोट सुरु भएपनि झापाको खेल भदौ २५ गतेमात्र सुरु हुने भएपछि झापा एफसीले हेटौंडामा बन्द प्रशिक्षण सुरु गरेको छ।

काठमाडौंको वातावरणसँग खेलाडीलाई घुलमिल गराउन झापा एफसीले हेटौंडामा बन्द प्रशिक्षण गरेको क्लबका उपाध्यक्ष यमकुमार बस्नेतले सबैखेल डटकमलाई जानकारी दिए। हेटौंडामा प्रशिक्षण गरेपछि टिम भदौ २० गते सी डिभिजन लिग छनोट खेल्न काठमाडौं जाने उनले बताए।

मकवानपुर जिल्ला फुटबल संघसँगको सहकार्यमा झापाले हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको मैदानमा प्रशिक्षण गरिरहेको छ।

बन्द प्रशिक्षणमा झापा एफसीका १८ खेलाडी सहभागी छन्। प्रशिक्षणमा केही स्थानीय खेलाडी पनि सहभगाी भइरहेको क्लबका सचीव सुजन गाैतमले बताए। उनका अनुसार बन्द प्रशिक्षणमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई समेटेर सी डिभिजन लिग छनोटका लागि टिम छनोट गरिनेछ।

बन्द प्रशिक्षणकै बीचमा झापाले स्थानीय एफसी विजय युथसँग मैत्रीपूर्ण खेल खेल्ने छ । सी डिभिजन छनोटका लागि झापाले सचिन्द्र धिमाललाई मुख्य प्रशिक्षक बनाएको छ भने व्यवास्थापकमा अविनाश राजवंशी रहेका छन्।

झापा एफसी प्राइभेट कम्पनीमा दर्ता भएको नेपालकै पहिलो फुटबल क्लब हो।

Facebook Comments Box