झापा गोल्डकप १९ फागुनदेखि

25 Jan, 2024

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकप १९ फागुनदेखि हुने भएको छ। छैटौँ संस्करणको यो गोल्डकप २८ फागुनसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।

आयोजक झापा गोल्डकपले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। ०७८ मा पाँचौँ संस्करण भएको झापा गोल्डकप गत वर्ष स्थगित भएको थियो। झापाको भद्रपुरस्थित पुरानो रंगशाला मेची रंगशालामा भद्रपुर–झापा गोल्डकप आयोजना गर्नका लागि यो गोल्डकप गत वर्ष स्थगित गरिएको थियो।

छैटौँ झापा गोल्डकपमा आयोजकको तर्फबाट झापा– ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी दस टिमले सहभागिता जनाउने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

यस वर्ष गोल्डकपमा पुरस्कारको राशि पनि केही वृद्धि भएको छ। यसपटक झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए।
बम

गत संस्करणमा विजेतालाई नगद १२ लाख ५५ हजार र उपविजेतालाई ६ लाख पाँच हजार रूपैयाँ दिइएको थियो। प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ।

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए।

छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए। यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने उनले बताए।

प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ४० लाख खर्च लाग्ने अध्यक्ष बस्नेतले बताए। प्रतियोगिता सञ्चालनको लागि महासचिव गजेन्द्रबहादुर पौडेलकोे नेतृत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको छ। सचिवालय सदस्यहरूमा केशव भट्टराई, विशाल नेम्वाङ, हिमाल खरेल, भूमिका सुब्बा र चन्द्र तिम्सिना छन्।

०७२ सालबाट हुँदै आएको झापा गोल्डकप छैटौँ संस्करणमा पुगेको छ। यसअघिका पाँचौँ संस्करणध्ये त्रिभुवन आर्मी फुटबल क्लबले चार संस्करण र मनाङले एउटा संस्करणको उपाधि हात पारेको छ।