क्लब फुटबलफुटबल

क्रोएसियन डिफेन्डर ग्वार्डियोल सिटीमा

क्रोएसियाका युवा डिफेनडर जस्को ग्वार्डियोल इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा आबद्ध भएका छन्। २१ वर्षीय सेन्ट्रल डिफेन्डर ग्वार्डियोल जर्मन क्लब आरबी लेइपजिगबाट सिटी आएका छन्।

विश्वकै उत्कृष्ट युवा डिफेन्डरको छवि बनाएका ग्वार्डियोलका लागि सिटी ९० मिलियन युरो खर्चिएको छ। ग्वार्डियोलले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२८ सम्म इत्तिहादमा रहने छन्।

योसँगै ग्वार्डियोल विश्वकै दोस्रो महँगा डिफेन्डर बनेका छन्। सर्वाधिक महँगा डिफेन्डर म्यानचेस्टर युनाइटेडका ह्यारी मग्वायर हुन्। लेस्टर सिटीबाट युनइटेडले उनलाई १०१.९८ मिलियन युरोमा अनुबन्धन गरेको थियो।

सिटीसँग सम्झौता गरेपछि उनले इंग्ल्यान्डमा खेल्ने आफ्नो सपना पुरा भएको बताएका छन्। सिटीमा आबद्ध हुनु पाउनु आफू र परिवारका लागि एकदमै स्पेसल भएको बताएका छन्।

सन् २०२० मा घरेलु क्लब डाइनामो जाग्रेबबाट लेइपजिग आएका ग्वार्डियोलले त्यसपछि एक सिजत जाग्रेबमै लोनमा खेले। लेइपजिगबाट उनले ८८ खेल खेल्दै ५ गोल गरेका छन्। त्यहाँ उनले डिएफबी पोकल उपाधि जितेका छन्।

कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि ग्वार्डियोल सबैको नजरमा परेका हुन्। क्रोएसियालाई कतार विश्वकपमा तेस्रो बनाउन उनको भूमिका महत्वपूर्ण थियो।