युवा इंग्लिस मिडफिल्डर जुड बेलिङ्घम स्पेनिस क्लब रियल मड्रिड आउने पक्का जस्तै भएको छ। १९ वर्षीय मिडफिल्डरका लागि रियलले राखेको ‘प्रपोजल’ उनको क्लब बोरुसिया डर्टमन्डले स्वीकार गरेकाले उनी रियल आउने पक्का जस्तै भएको बताइएको छ।
रियलले बेलिङ्घमका लागि सय मिलियन पाउण्डको प्रस्ताव गरेको छ। यो सिजनको सुरुआतदेखि नै रियल बेलिङ्घमलाई भित्र्याउन लागि परेको थियो। उनलाई रियलले लुका मोड्रिचको रिप्लेसका रुपमा हेरेको छ।
१९ वर्षीय स्टार मिडफिल्डर बेलिङ्घमलाई भित्र्याउन इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएको थियो। तर, पछिल्लो समय लिभरपुल भने उच्च मूल्यका कारण बेलिङ्घम भित्र्याउन रेसबाट बाहिरिएको छ।
कुर्कुचाको चोटका बाबजुद बेलिङ्घमले यो जित उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले जारी सिजन ४२ खेल खेल्दै १४ गोल र ७ असिस्ट गरेका छन्। उनकै प्रदर्शन मद्दतमा डर्टमन्ड बुन्डेस लिगाको उपाधि नजिक पुगेको छ।