नापोलीसँग हार्‍यो युभेन्ट्स

डिफेन्डिङ च्याम्पियन युभेन्ट्स इटालियन सिरि एमा पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग १–०ले पराजित भएको हो ।

घरेलु मैदानमा कप्तान लोरन्सो इनसिग्नेको निर्णायक गोलमा नापोली विजयी भयो । उनले ३१औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । कप्तान जर्जियो चिनिलिने डिबक्समा नापोलीका खेलाडीलाई हातले मुखमा हानेपछि नापोलीले पेनाल्टी पाएको थियो। त्यसपछि कुनै गोल नहुँदा नापोली विजयी भयो ।

खेलमा दबाब भने युभेन्ट्सले बनाएको थियो । उसले ६३प्रतिशत बल पोजेसन बनाउँदै नापोलीको पोस्टमा २६ सट प्रहार गरेको थियो, जसमध्ये ६ सट फ्रेममा थियो । यता, नापोलीले भने ८ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।

शनिबार राति नै भएको खेलमा लिग लिडर एसी मिलान स्पेजियासँग २–०ले पराजित भएको छ ।

जितसँगै नापोली लिगको चौंथो स्थानमा उक्लिएको छ । उसको २१ खेलमा ४० अंक भएको छ । यता, युभेन्ट्सले शीर्ष स्थानको मिलानसँगको अंकदुरी ४ अंकमा घटाउने अवसर गुमायो । उ ४२ अंकका साथ तेस्रो स्थानमा छ । मिलान ४९ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.