युभेन्ट्स र एसी मिलान च्याम्पियन्स लिगमा, नापोली बाहिरियो

सिरि एको अन्तिम दिन जित निकाल्ल युभेन्ट्स र एसी मिलान च्याम्पियन्स लिगका लागि छनोट भए । आइतबार राति भएको लिगको अन्तिम खेलमा युभेन्ट्सले बोलाग्नालाई ४–१ले हराउँदा एसी मिलानले एट्लान्टामाथि २–०को जित निकाल्यो।

यो जितसँगै एसी मिलान ७९ अंकका साथ दोस्रो स्थानमा रह्यो भने युभेन्ट्स ७८अंकका साथ चौथो भयो । नापोली भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएपछि युभेन्ट्सले च्याम्पियन्स लिग खेल्ने मौका पाएको हो।

यता, बराबरीमा रोकिएपछि नापोली भने च्याम्पियन्स लिगमा छनोट हुन असफल भयो, उसले अब युरोपा लिग खेल्ने छ। युभेन्ट्स र एसी मिलानसँगै च्याम्पियन इन्टर मिलान र एट्लान्टाले पनि च्याम्पियन्स लिग खेल्ने छन्।

आइतबार राति क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटाले २ गोल गरे भने फडेरिका चिएसा र एड्रियन राबिओटले गोल गरे ।

चिएसाले छैठौं, मोराटाले २९ र राबिओटले ४५औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले पहिलो हाफमै ३–० को अग्रता लियो । मोराटाले ४७औं मिनेटमा थप एक गोल गरे भने बोलोग्नाका रिकार्डो ओरसोलिनीले ८५औं मिनेटमा एक गोल फर्काए।

सन् २०११–१२ पछि पहिलो पटक युभेन्ट्स सिरि ए फुटबलमा उपाधि बिहीन बनेको हो।

यसैगरी एट्लाटामाथि २–०को जित निकाल्दै एसी मिलान दोस्रो हुँदै च्याम्पियन्स लिगमा छनोट भए । एट्लान्टाविरुद्ध मिलानलाई जित दिलाउन दुवै गोल फ्रान्क केस्सीले गरे। उनले दुवै गोल पेनाल्टीमा गरेका थिए।

खेलको ४३ औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिनले रातो कार्ड पाएपछि एट्लान्टा १० खेलाडीमा समेटियो । यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा फ्रान्कले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २–० को जित दिलाए ।

Facebook Comments Box