साउदी प्रो लिगको च्याम्पियन टिम हो, अल इत्तिहाद । अघिल्लो साता सकिएको लिगमा उसले च्याम्पियन बन्ने क्रममा क्रिस्टियानो रोनाल्डोको टिम अल नासरलाई पछि पारेको थियो।
अर्को सिजन पनि टिमलाई बलियो बनाउन अल इत्तिहादले आजै मात्र फ्रेन्च स्टार स्ट्राइकर करिम बेन्जिमालाई भित्र्याएको छ। बेन्जिमालाई भित्र्याएको अल इत्तिहाद अर्का फ्रेन्च खेलाडीलाई भित्र्याउन खोजिरहेको छ।
अल इत्तिहाद इंग्लिस क्लब चेल्सीका स्टार मिडफिल्डर एनगोलो कान्टेलाई भित्र्याउन खोजिरहेको छ। समाचारअनुसार इत्तिहाद कान्टेलाई भित्र्याउन नजिक पुगेको बताइएको छ।
३२ वर्षीय विश्वकप विजेता मिडफिल्डर कान्टेका लागि इत्तिहादले प्रतिवर्ष ८६ मिलियन पाउने गरी २ वर्षको प्रस्ताव गरेको बताइएको छ। चेल्सीसँगको उनको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ।
लेस्टर सिटीबाट सन् २०१६मा चेल्सी आएका कान्टेले चेल्सीमा ७ सिजन बिताउँदा २६९ खेलमा १३ गोल गरेका छन्। यसबीचमा उनले च्याम्पियन्स लिग, प्रियिमर लिगसहित ६ उपाधि जितेका छन्।
चेल्सीमा प्रशिक्षकका रुपमा माउरिसियो पोचेटिन्हो आएपछि चेल्सीमा कान्टेको भविष्य संकटमा परेको हो। पोचेटिन्होले मिडफिल्डमा युवा खेलाडी खेलाउन चाहिरहेका छन्। त्यसअनुसार कान्टेको स्थानमा उनले ब्राइन्टनमा युवा मिडफिल्डर मोइसेस काइसेडोलाई भित्र्याउन चाहिरहेका छन्।