सांसद मनाङेको धम्कीपछि एन्फा अध्यक्षको प्रतिक्रियाः भन्नेले भन्दै गर्छन्, काम गर्दै जाने हो

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले गण्डकी प्रदेशका सांसद राजीव गुरूङ उर्फ दिपक मनाङेको धम्कीसँग आफु नडराउने बताएका छन् । शेर्पाले आफ्नो जिम्मेवारी अनुसार काम गर्दै जाने र कसैसँग नडराउने बताएका हुन् ।

सांसद मनाङले मंगलबार पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगितको उद्घाटन कार्यक्रममा शेर्पालाई झापड हान्ने धम्की दिए । मनाङेको सो धम्कीका विषयमा शेर्पाले कसले के भन्छ ? त्यसको पछि आफू नलाग्ने प्रतिक्रिया दिएका छन् । अध्यक्ष शेर्पाले भने, ‘कसले के भन्छ त्यसको पछि म लाग्दिनँ । भन्नेले भन्दै गर्छन्, म आफ्नो काममा लाग्ने हो ।’

मनाङेले फिफाले कर्माको मुख हेरेर पैसा नदिएको भन्दै फिफाले दिएको पैसा उनीहरुले भ्रष्टाचार गरेर सकेको आरोप लगाएका थिए । ‘उनले के भने भन्ने सरोकारको विषय भएन । यो बारेमा कास्की जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरेर धारणा पेश गरिसकेको छ,’ उनले भने, ‘यो विषयमा धेरै चर्चा गरिरहन आवश्यक छैन ।’

पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगितको उद्घाटन कार्यक्रममा मनाङेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात समेत गरेका थिए । मिलनमाथि हातपात गरेपछि मनाङेले खासमा कर्मालाई झापड हान्न चाहेको र झापट नहानी नछोड्ने बताएका थिए ।

एन्फा कस्कीका अध्यक्ष कुट्ने दीपक मनाङे विरूद्ध मुद्दा दर्ता

गण्डकी प्रदेशका सांसद राजीव गुरूङ उर्फ दीपक मनाङे विरुद्ध मुद्दा दर्ता भएको छ । मंगलबार पोखरामा सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उद्घाटन हुनुपूर्व एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आपोपमा मुद्धा दर्ता गरिएको हो ।

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कशुर हुँदा निजलाई ठाँडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय माग गर्दै निवेदन दिएका हुन् ।

मुद्धा दर्ता गर्नु अघि गुरुङले पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरु लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफनो जिउ धनको सुरक्षाको माग गदै मनाङे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दत्र्ता गर्ने जानकारी दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.