धनगढीसँग काठमाडौंले लियो बदला, बन्यो नेपाल सुपर लिगको पहिलो च्याम्पियन

काठमाडौं रेजर्स नेपाल सुपर लिगको पहिलो च्याम्पियन बनेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–०ले पराजित गर्दै काठमाडौं नेपाल सुपर लिगको च्याम्पियन बनेको हो।

काठमाडौंले धनगढीसँग लगातार दुई हराको पनि बदला लिन सफल भएको छ। यसअघि काठमाडौं धनगढीसँग लिग र प्लेअफमा पराजित भएको थियो।

काठमाडौंलाई जित दिलाउने क्रममा मेसुके ओलोमोउले निर्णायक गोल गरे । उनले पहिलो हाफको २१औं मिनेटमा विश्वास श्रेष्ठको पासमा गोल गरेका थिए । त्यही गोल नै खेलको निर्णायक बन्यो ।

योसँगै मेसुके खेलको सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगितामा एक ह्याट्रिकसहित ८ गोल गरेका छन्।

जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ प्राप्त गर्‍यो भने धनगढीले १५ लाख रुपैयाँमा चित्त बुझायो ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments Box