खप्तड गोल्डकप : पहिलो खेलमा हार्यो लिग च्याम्पियन मछिन्द्र
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्बल मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको पहिलो खेलमै पराजित भएको छ। बाइ पाएर सिधै क्वार्टरफाइनलमा पुगेको मछिन्द्र धनगढी रंगशालामा मंगलबार भएको खेलमा बागमती युथ क्लबसँग पेनाल्टीमा ४–२ले पराजित भयो।
निर्धारित ९० मिनेटमा दुवै टिमका कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा बागमतीका अमन श्रेष्ठ, इमान घलान, ड्याडी वाम्बा जुनियर र अनिल रानाले गोल गरे भने दिवस लिम्बुको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।
मछिन्द्रका रंजित धिमाल र विमल घर्ति मगरले गोल गरे भने विशाल राई र नुरेन करिमले प्रहारबाट बाहिर प्रहार गरे ।
अब बागमतीले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।