ए डिभिजन लिगफुटबल

बी डिभिजनमै झर्‍यो खुमलटार, एपिएफ र थ्री स्टारमाथि दबाब

एफसी खुमलटार एक सिजनमै फेरि बी डिभिजनमै झरेको छ। शुक्रबार एन्फा कम्प्लेक्स मैदानम भएको तनावपूर्ण खेलमा लिग च्याम्पियन चर्च बोइज युनाइटेडसँग २–०ले पराजित भएपछि खुमलटार रेलिगेसनमा पर्दै एक सिजनमै पुनः बी डिभिजनमा झरेको हो।

खुमलटार एक सिजनमै रेलिगेसनमा पर्दा चर्चा बोइज भने ए डिभिजनमा आएको पहिलो सिजन नै च्याम्पियन बन्यो। उ खुमलटारविरुद्धको खेल अघि नै च्याम्पियन बनिसकेको थियो।

लिगको अन्तिम खेलमा चर्च बोइजलाई जित दिलाउन सुशील साह र जेसेप बेम्पाहले गोल गरे। १२औं मिनेटमा सुशीलले बोइजलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमै खुलटारले बराबरीमा राम्रो अवसर पायो, तर त्यसलाई सदुपयोग गर्न सकेन। उसका मेसुके ओलोमोउ पेनाल्टीमा गोल गर्न चुके।

पहिलो हाफमै इन्जुरी समयमा खुमलटारले फेरि पेनाल्टीको अपिल गरेको थियो। तर, रेफ्रीले पेनाल्टी नदिँदा खेल तनावपूर्ण बनेको थियो । खुमलटारका अफिसियलले मैदानमै पसेर रेफ्रीको निर्णयमा प्रतिवाद गर्दै हातपात पनि गरेका थिए। त्यसपछि रेफ्रीले खुमलटारका ३ अफिसियललाई रातो कार्ड दिए।

विवादका कारण खेल आधा घण्टाभन्दा बढी रोकिएको थियो । विवादपछि खेल सुरु भएलगत्तै चर्च बोइजले गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमै उसका जोसेपले गोल गरेका थिए।

तर, दोस्रो हाफमा चर्च बोइज १० खेलाडीमा समेटिएको थियो। उसको गोलकिपर प्रिसोले रातो कार्डा पाएका थिए। चर्च बोइज १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा खुमलटारले उठाउन सकेन्।

१ खेल बाँकी छँदै च्याम्पियन बनेको चर्च बोइजले २६ खेलमा १३ जित र ९ बराबरीसहित उसले ४८ अंक जोड्यो । यता, खुमलटार भने ८ जित र ३ बराबरीसहित २७ अंकसहित लिगको पुछारमा रह्यो।

खुमलटारसँगै एपिएफ वा थ्री स्टार मध्ये एक टिम पनि रेलिगेसनमा पर्नेछ। आजै भएको खेलमा फ्रेन्ससँग ४–०ले पराजित भएपछि एपिएफमाथि रेलिगेसन दबाब परेको हो।

थ्री स्टारलाई रेलिगेसनबाट जोगिनमा अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई हराउनै पर्ने हुन्छ। बराबरी र हारले उ खुलमटारसँथै रेलिगेसनमा पर्ने छ।