कीर्तिमान बनाउँदै किरण

आज साँझ दशरथ रंगशालामा हुने भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ कीर्तिमान बनाउने छन्। यो खेलसँगै उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने छन्।

गत बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलसँगै किरणले पूर्वकप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए । अहिले किरण र विराज दुवैले नेपालका लागि समान ७३ खेल खेलेका छन्।

किरणले २४ मे २००८ मा मकाउविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। पहिलो खेलमै चोट बकेपछि उनी लामोसमय मैदान बाहिर रहे। त्यसयता करिब १३ वर्ष राष्ट्रिय टोलीबाट खेलेका किरणले आफू यो अवसरसम्म आइपुग्नेमा आशावादी नभए पनि मिहिनेतका कारण यो उपलब्धि हासिल गरेको बताए ।

‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु,’ किरणले भने, ‘देशका लागि खेल्न पाउनु ठूलो कुरा हो। कीर्तिमान त्यसपछि मात्र आउँछ ।’

व्यक्तिगत कीर्तिमान बनाउँदा खुसी भएपनि आफूले कीर्तिनका लागि कहिल्यै नखेलेको बताए । उनले भने, ‘जति खेलिन्छ राम्रो प्रदर्शन गर्ने प्रयास गरिरहुनेछु।’ किरणले यसअघि सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध पहिलो पटक कप्तानी सम्हालेका थिए। विराज गत वर्ष भएको थ्री नेसन्स कपपछि सन्न्यास लिएपछि किरण नेपाली टिमको पूर्णकालिन कप्तान बनेका हुन्।

किरणले घरेलु लिगमा मछिन्द्र, थ्रिस्टार, मनाङ मर्स्याङ्दी र मोफसलमा नेपाल पुलिसबाट समेत खेलेका छन् । पहिलो नेपाल सुपर लिगमा उपविजेता धनगढी एफसीको आइकोनिक खेलाडीको रुपमा खेले ।

किरणले माल्दिभ्सको टिसी स्पोर्टस् क्लब र भारतको आई लिग मिनर्वा पञ्जाबबाट लिग उपाधि हात पारेका छन् । भारत र माल्दिभ्समा किरण लिगमै सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए ।

Facebook Comments Box