माल्दिभ्ससँग भिड्नुअघि किरण चेम्जोङले भने– लक्ष्य उपाधि हो, कुनै टिमसँग डराउँदैनौं

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य बनाएको नेपाली फुटबल टिमले शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्दै त्यसको सुरुआत गर्ने छ । नेपालले माल्दिभ्ससँग शुक्रबार राति ९ः४५ बजे खेल्ने छ।

प्रतियोगिता सुरु हुनुअघिको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान किरण चेम्जोङले आफूको लक्ष्य उपाधि भएको बताएकाले राम्रो प्रदर्शन गर्ने बताए। किरणले उपाधिका लागि अन्तिमसम्म फाइट गर्ने र कुनै टिमसँग नडराउने बताए।

‘माल्दिभ्सलाई घरेलु मैदानको फाइदा हुनेछ, उनीहरुलाई घरेलु समर्थकको साथ हुनेछ । तर, त्यसले हामीलाई फरक पार्दैन । हामी गोर्खाली हौं, कसैसँग डराउने छैनौं,’ किरणले भने।

किरणले यस पटक नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको बताए । उनले युवा खेलाडीहरु राम्रा भएको बतउाँदै टिममा युवा र सिनियर खेलाडीको राम्रो कम्बिनेसन भएकाले राम्रो नतिजाको अपेक्षा गरेको बताए।

फाइनल पुग्ने लक्ष्य रहेको बताउँदै किरणले त्यसका लागि सबै खेल जित्नुपर्ने बताए । उनले भने, ‘यसपटक हामी हरेक खेलमा कडा मेहनत गर्नेछौं। फाइनल पुग्न हरेक खेल जित्नुपर्छ । हरेक खेल कठिन हुन्छ ।’

Facebook Comments Box