
कप्तान किरणले भने– मैत्रीपूर्ण खेल भनेर जे पनि गर्दैनौं, रिजल्टको अपेक्षा छ
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध जितकै लागि मैदानमा उत्रने बताए । दुई मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा आयोजित प्रिम्याच कन्फ्रेन्समा कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध खेल अनुभव बटुल्ने अवसर भएको पनि बताए।
‘मैत्रीपूर्ण खेल भनेर जे पनि गर्न मिल्दैन। रिजल्टको अपेक्षा हुन्छ । र, त्यो गर्नु पनि पर्छ,’ किरणले प्रिम्याच कन्फ्रेन्समा भने, ‘जितकै लागि खेल्छौं। यो खेल केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसर हो।’
माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका किरणले बुधबार राति मात्र काठमाडौं आएका थिए । उनले टिमसँग २ दिनदेखि अभ्यास गरिरहेका छन् ।
प्रिम्याच कन्फ्रेन्समा किरणले टिमसँग प्रशिक्षण भर्खरेमात्र गरेपनि सबै खेलाडी फिट रहेको बताए। साथै उनले मोरिसससँग पहिलो पटक भिड्नका लागि आफूहरु तयार गरेको बताए ।
नेपालले मोरिसससँग माघ १५ र १८ गते दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेल्ने छ। दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरक दुई टिम घोषणा गरेका छन्।