एन्फा प्रवक्ता राईले दिए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। प्रवक्ता राईले सोमबार राजीनामा पत्र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाएका छन्।

प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन् ।

प्रवक्ता राईले आइतबार नै पत्रकार सम्मेलन गर्दै राजीनामा दिने तयारी गरेको र केही समयपछि नै उनी राजीनामबाट ब्याक भएको हल्ला चलेको थियो । तर, प्रवक्ता राईले यो विषय हल्ला मात्र भन्दै आफूले राजीनामा नदिने बताएका थिए । ‘जति समाचार आएका छन्, यी हल्ला मात्र हुन् । एन्फमा यस्ता हल्ला चलिरहन्छन्,’ प्रवक्त राईले आइतबार भनेका थिए।

प्रवक्ताबाट राजीनामा दिएपनि राई एन्फाको केन्द्रिय सदस्य भने रहने छन्।

यसैगरी, एन्फाका सहायक महासचिव बसन्तराज अर्यालले पनि पदबाट राजीनामा दिएका छन्। २०७७ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहन नैतिक संकट परेकोले पदबाट अलग हुने निर्णय गरेको उनले बताए।

सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा बुझाएका छन् ।

Facebook Comments Box