
एम्बाप्पेको गोलमा फ्रान्स हारबाट जोगियो
किलियन एम्बाप्पेले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स युईएफए नेसन्समा हारबाट जोगिएको छ। शुक्रबार राति भएको खेलमा एम्बाप्पेको गोलमा फ्रान्सले अस्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो।
घरेलु टोलीका लागि एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका लागि परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका युवा स्टार केलियन एमबाप्पेले बराबरी गोल फर्काए।
खेलको ३७औं मिनेटमा वेइमानले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर, त्यो अग्रतालाई अस्ट्रियाले बचाउन सकेन।
८३औं मिनेटमा परिवर्तित खेलाडी एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए। ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको स्थानमा मैदान छिरेका एमबाप्पेले अर्का परिवर्तित खेलाडी क्रिस्टोफोर एनकुकुको पासमा गोल गरेका थिए।
बराबरीसँगै अस्ट्रिया दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। फ्रान्सले ३ खेलबाट २ अंक मात्रै जोड्न सकेको छ। यो समूहमा डेनमार्क ६ अंक जोडेर शीर्षस्थानमा रहँदा क्रोएसिया ४ अंक जोडेर तेस्रो स्थानमा छ।