क्लब फुटबलफुटबल

अन्तिम खेलमा बार्सिलोना पराजित, रियल र एट्लेटिको रोकिए

यो सिजनको स्पेनिस ला लिग सकिएको छ। आइतबार राति भएको खेलमा ला लिगका शीर्ष तीन टिम जित निकाल्न असफल भए।

त्यसमा लिग च्याम्पियन बार्सिलोना पराजित हुँदा दोस्रो र तेस्रो स्थानका रियल मड्रिड र एट्लेटिको मड्रिड बराबरीमा रोकिए।

आइतबार राति भएको खेलमा यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोना सेल्टा भिगोसँग २–१ ले पराजित भयो । घरेलु मैदानमा सेल्टाभिगोलाई जित दिलाउन गाब्री भेइगा नोभासले दुई गोल गरे । बार्सिलोनाका अन्सु फातीले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा २१ वर्षीय भेइगाले ६२औं र ६५औं मिनेटमा गोल गरे थिए भने फातीले ७९औं मिनेटमा गोल फर्काएका थिए।

यो जितले सेल्टाभिगोको रेलिगेसन खतरा पनि टरेको छ। पराजित हुँदा उ रेलिगेसनमा पर्नेथियो। सेल्टाभिगो ४३ अंकसहित १३औं रह्यो ।

यस्तै, घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओसँग १–१ गोलको बराबरी खेल्यो । रियलका लागि आफ्नो अन्तिम खेल खेलिरहेका करिम बेन्जेमाले गोल गरेपछि रियलले लिगको अन्तिम खेलमा बराबरी खेलेको हो।

ओइहान सानचेटले २९औं मिनेटमा गोल गर्दै बिल्बाओलाई अग्रता दिलाए। त्यसअघि १०औं मिनेटमै प्राप्त पेनाल्टीमा उसका मिकेल भेस्गा गोल गर्न चुके। उनको प्रहार रियलका किपर थिवाउट कोर्टुले बचाएका थिए।

बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरिसकेका छन् । १४ वर्षपछि रियल छाड्न लागेका बेन्जेमा अब साउदी अरबियन क्लब जाने चर्चा छ।

यस्तै, अर्को खेलमा एट्लेटिको मड्रिड भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकियो। खेलमा एट्लेटिकोका लागि एंगल कोरेयाले दुवै गोल गरेका थिए भने भिल्लारियलका लागि निकोलस ज्याक्सन र जोर्गे पास्कलले गोल गरेका थिए।

ला लागिबाट यो सिजन इस्पानियोल, इल्चे र रियल भालाडोलिड रेलिगेसनमा परेका छन्। इस्पानियोल, इल्चे अन्तिम खेल अघि नै रेलिगेसनमा परेका थिए भने भालाडोलिड भने अन्तिम खेलमा गेडाफेसँग बराबरी खेल्दा रेलिगेसनमा परेको हो।