नेपालबाट अब टिभिमा ला लिगा लाइभ हेर्न नपाइने

रियल म्याड्रिड, बार्सिलोना, एथ्लेटिको म्याड्रिड लगायतका युरोपका सफल क्लब सम्मिलित स्पेनिस लिग ला लिगा अब नेपाल, भारतलगायतका भारतीय उपमहाद्विपका देशहरुका टिभीमा प्रत्यक्ष प्रसारण नहुने भएको छ । प्रत्यक्ष प्रसारण बन्द भएसँगै मेसी, ग्रिजम्यानलगायत विश्वका उत्कृष्ट खेलाडीको खेल टिभीमा लाइभ हेर्न नपाईने भएको छ । प्रत्यक्ष प्रसारण बन्द भएका देशहरुमा नेपाल र भारतसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् ।

यसअघि सोनीले भारतीय उपमहाद्विपअन्तर्गतका देशमा टिभीमार्फत ला लिगाका सबै खेलको प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । तर, यो सिजनको प्रसारण अधिकार फेसबुकले पाएपछि टिभीमा ला लिगा हेर्न नपाइने भएको छ । अब फेसबुकको ‘फेसबुक वाच’ नामको एप्स मोबाइलमा इन्स्टल गरेर अनलाइनमात्र ला लिगाका खेल प्रत्यक्ष हेर्न सकिनेछ । लाइभ हेर्नका लागि कुनै शुल्क नलागे पनि हाइस्पिडको इन्टरनेट भने चाहिने छ ।

फेसबुकले प्रसारण कति मूल्यमा लिएको हो भन्ने विषयमा भने खुलासा गरेकाे छैन । यसअघि २०१४ मा सोनीले ३२ मिलियन अमेरिकी डलरमा २०१८ सम्मको प्रसारण अधिकार लिएको थियो । गत सिजनको अन्त्यसँगै सोनीको प्रसारण अधिकार सम्झौता सकिएपछि फेसबुकले यसपटकको प्रसारण अधिकार पाएको थियो ।

भारतमा ला लिगा टिभीमा प्रत्यक्ष हेर्न पाइनुपर्छ भनेर हस्ताक्षर संकलन अभियान (पेटिसन साइन) सुरु भएको छ । भारतमा क्रिकेटपछि  दोस्रो बढी हेरिने खेल फुटबलमा इंग्लिस प्रिमियर लिग र ला लिगा हेर्नेहरुको संख्या धेरै छ । रोनाल्डो र मेसीलगायत विश्वका ठूला खेलाडीहरुको सहभागिता हुने ला लिगाका दर्शक नेपालमा पनि उल्लेखनीय संख्यामा छन् । रोनाल्डो भने यो सिजनबाट ला लिगा छाडेर सिरि-‘ए’मा आबद्ध भएका छन ।

विशेषगरी युवाहरुले बढी हेर्ने फुटबल लिगको माध्यमबाट फेसबुक युवा प्रयोगकर्तालाई बाँधिराख्ने दाउमा छ । अमेरिका र पश्चिमी युरोपमा फेसबुकका सक्रीय प्रयोगकर्ता घटेसँगै मार्क जुकरबर्ग एसियाली प्रयोगकर्ता तान्नमा लागेका छन् ।

भारत अहिले सबैभन्दा बढी (२४१ मिलियन) फेसबुक प्रयोगकर्ता भएको देश हो । यसअघि अमेरिका (२४० मिलियन) सबैभन्दा बढी फेसबुक प्रयोगकर्ता भएको देश थियो । नेपालमा पनि इन्टरनेटको पहुँचसँगै फेसबुक प्रयोगकर्ता बढीरहेका छन् । फेसबुकले यसैको सदुपयोग गर्दै ला लिगामार्फत युवा प्रयोगकर्ता आकर्षित गर्न टिभिको प्रसारण खोसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *