ला लिगाले दियो नेपाललाई साफ च्याम्पियनसिपका लागि शुभकामना

रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिडलगायत विश्वका उत्कृष्ट र शीर्ष क्लबहरु सहभागी हुने स्पेनको शीर्ष डिभिजनको लिग ला लिगाले नेपाललाई शुभकामना दिएको छ। माल्दिभ्समा आज (शुक्रबार) बाट सुरु भएको साफ च्याम्पियनसिपका लागि ला लिगाले शुभकामना दिएको हो।

स्पेनिस लिगले नेपालप्रति सद्भाव देखाएको यो पहिलोपटक भने होइन। यसअघि पनि दशैंतिहारको उपलक्ष्यमा शुभकामना दिएको थियो। ला लिगाकै क्लब एइबारले लामो समय स्थगित भएर शहिद स्मारक ए डिभिजन लिग पुनः सुरु हुँदा सफलताको शुभकामना दिएको थियो।

यस्तै, जर्मनको शीर्ष डिभिजनको लिग बुन्डेसलिगाले दशैंको अवसरमा नेपालीलाई शुभकामना दिँदै आएको छ भने इंग्लिस प्रिमियर लिगको क्लब आर्सनलले पनि दशैंतिहारमा शुभकामना दिने गरेको छ।

यसको मुख्य कारण भनेको ति विदेशी लिगको नेपालमा रहेका कैयौं समर्थकहरु हुन्। नेपालका फुटबल प्रेमीहरु युरोपको शीर्ष लिगमा खेल्ने विभिन्न क्लबका आधिकारिक फ्यान छन् भने नेपालमा मान्यताप्राप्त फ्यान क्लबहरु पनि थुप्रै छन्।

तिनै फुटबल फ्यान र फ्यान क्लबहरुले पछिल्लो समय भौगोलिक दूरी मेट्दै सद्भाव आदानप्रदानको वातावरण तयार गरेका हुन्।

साफ च्याम्प्यिनसिपअन्तर्गत नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सको सामना गर्दैछ। नेपालको खेल नेपाली समयानुसार आज (शुक्रबार) राती ९ः४५ बजे हुनेछ।

Facebook Comments Box