
अन्तिम मिनेटमा सम्हालिन नसक्दा रोकियो युभेन्ट्स
इटालियन सिरि एमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार साँझ भएको खेलमा अन्तिम मिनेटमा सम्हालिन नसक्दा युभेन्ट्स लाजियोसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
क्रिस्टियानो रोनाल्डोले १५औं मिनेटमै गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। जिततर्फ अग्रसर भएको युभेन्ट्स अन्तिम समयमा सम्हालिन नसक्दा लाजियोले गोल फर्कायो र एक अंक जोड्यो । दोस्रो हाफको इन्जुरी सयमको पाँचौं मिनेटमा फिलिपे काइसेडोले गोल गरेका थिए ।
खेलमा लाजियोले बल पोजेसन राम्रो बनाएको थियो । ५५ प्रतिशत बल पोजेसन बनाएको लाजियोले युभेन्ट्सको पोष्टमा १४ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता, युभेन्ट्सले ११ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो ।
बराबरी पछि युभेन्ट्सले शीर्ष दुईमा उक्लिने अवसर गुमायो । ७ खेलमा ३ जित र ४ बराबरी खेलेको युभेन्ट्स १३ अंकसहित पाचौं स्थानमा छ भने लाजियो भने ११ अंकसहित नवौं स्थानमा छ ।