लेसेस्टर विजयी, टोटनह्याम रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लेसेस्टर सिटी विजयी हुँदा टोटनह्याम भने बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लेसेस्टरले वेस्टह्यामलाई २–१ले हराउँदा टोटनह्याम भने नर्विच सिटीसँग २–२ गोलको बराबरीमा रोकियो ।

वेस्टह्यामको मैदानमा भएको खेलमा लेसेस्टरलाई जित दिलाउन केलेची इनहान्चो र डेमराइ ग्यारीले गोल गरे भने वेस्टह्यामका पाब्लो फोमालसले गोल गरेका थिए ।

खेलमा अग्रता लेसेस्टरले लियो । इनहान्चोले ४०औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलायो । यसअघि खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा जिमी भार्डी गोल गर्न चुक्दा लेसेस्टर अग्रता लिने अवसर गुमाएको थियो । तर, वेस्टह्यामका फोमालसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५६औं मिनेटमा ग्यारीले काउन्टर अट्याकमा गोल गरेपछि लेस्टरले खेल २–१ले जित्यो ।

यसैगरी नवप्रवेशी नर्विच सिटीले आफ्नै मैदानमा बलियो टोटनह्यामलाई २–२ गोलको बराबरीमा रोक्यो । नर्विचका लागि १८औं मिनेटमा मारियो भानसिच गोल गर्दा क्रिस्टियन इरिक्सनले ५५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६१औं मिनेटमा सर्गी ओरियरले आत्माघाती गोल गरेपछि पुनः नर्विचले अग्रता लियो । ८३औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनह्यामको हार टारे ।

शनिबार नै भएका अन्य खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई २–१ले हराउँदा वाटफोर्डले एस्टनभिल्लालाई ३–०ले हरायो । साउथ ह्याम्पटन र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *