मेसीको ह्याट्रिकमा बार्सिलोनको सहज जित

कप्तान लियोनल मेसी चम्किएपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा २ उत्कृष्ट फ्रिकिक गोलसहित ह्याट्रिक गरेपछि बार्सिलोनाले सेल्टाभिगोलाई ४–१ले हरायो ।

यो जितसँगै रियल म्याड्रिडलाई गोलअन्तरमा पछि पार्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सा र रियल दुवैले १२ खेलमा २५ अंक जोडेका छन् । १३ खेलमा २३ अंक जोडेको रियल सोसिडाड तेस्रो स्थानमा छ ।

बार्सिलोनको यो जितले प्रशिक्षक अर्नेस्टो भाल्भार्डेलाई भने ठूलो राहत दिएको छ । अघिल्लो दुई खेलमा खराब प्रदर्शन गरेपछि प्रशिक्षक भाल्भार्डे माथि दबाब थपिएको थियो । बार्सिलोना लिगको अघिल्लो खेलमा लेभान्तेसँग ३–१ले पराजित भएको थियो भने च्याम्पियन्स लिगमा स्लाभिया प्राहासँग क्याम्प नेउमै गोलरहित बराबरीमा रोकिएको थियो । यदि शनिबार रातिको खेलमा पनि बार्सिलोना सेल्भाभिगोसँग पराजित भएको भए भाल्भार्डे बखास्र्तीमा पर्न सक्थे ।

कप्तान मेसीले २३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सेल्टाभिगोका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका थिए । लगत्तै मेसीले अर्थुरको पासमा गोल गरे, तर सो गोल ‘भार’ मार्फत क्यान्सिल गरिएको थियो ।

४२औं मिनेटमा सेल्टाभिगोले खेललाई बराबरीमा ल्यायो । उसका लुकास ओलासाले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा मेसीले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । यस्तै दोस्रो हाफको ४८ औं मिनेटमा मेसीले पुनः फ्रिकिकमै गोल गर्दै बार्सिलोनालई ३–१को अग्रता दिलाए भने आफ्नो ह्याट्रिक पुरा गरे ।

यो मेसीको करिअरको ५२औं ह्याट्रिक हो भने ला लिगाको ३४औं ह्याट्रिक हो । यस्तै, ८५औं मिनेटमा सर्जियो बुस्केट्सले गोल गरेपछि बार्सिलोनाले खेल ४–१ले जित्यो ।

खेलमा बार्सिलोनाले ६१ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले सेल्टाभिगोको पोस्टामा १० सट प्रहार गरेकोमा ७ सट फ्रेममा थियो । यता, सेल्टाभिगोले भने ६ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP