क्याम्प नाउबाट हटाइयो मेसीको पोस्टर

बार्सिलोनाको रंगशाला क्याम्प नाउबाट पूर्वकप्तान लियोनल मेसीको पोस्टर हटाइएको छ। २१ वर्षसम्म बार्सिलोनाका लागि खेलेका ३४ वर्षीय मेसीले गत बिहीबार मात्र बार्सिलोना छाडेका छन्।

मेसीले बार्सिलाना छाडेपछि क्याम्प नेउमा लगाएको उनको पोस्टर मंगलबार निकालिएको हो।

मेसी र बार्सिलोना दुवै सम्झौता नवीकरणका लागि सहमत थिए । तर, मेसीको सम्झौता नवीकरणमा ला लिगाको वित्तिय नियम बाधक बनेको थियो।

२१ वर्षपछि बार्सिलोना छाडेका मेसी फ्रेन्च क्लब पिएसजीमा आबद्ध हुँदै छन् । पिएसजीसँग सम्झौता गर्नका लागि मेसी केही समय अगाडि मात्र पेरिस पुगेका छन्।

मेसीले पिएसजीमा वार्षिक ३५ मिलियन युुरो पाउने गरी २ वर्षको सम्झौता गर्ने बताइएको छ । पिएसजीले मेसीलाई अर्को एकवर्ष सम्झौता नवीकरणको सुविधान पनि दिने छ।

६ पटकका बालोन डे’ओर विजेता मेसीले सन् २००४मा बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका थिए। १७ सिजन बार्सिलोनामा बिताउँदा उनले ७७८ खेल खेल्दै ६७२ गोल गरेका छन् । र, उनी बार्सिलोना इतिहासकै सबैभन्दा सफल र उत्कृष्ट खेलाडी हुन्, लिजेन्ड पनि।

मेसीले समग्रमा ३४ उपाधि जितेका छन् । उनले ला लिगा १०, कोपा डेल रे ७, सुपर कोपा डे स्पाना ७, च्याम्पियनस लिग ४, युईएफए सुपरकप ३ र फिफा क्लब वल्र्डकप ३ उपाधि जितेका छन् ।

Facebook Comments Box