
जोटा चम्किँदा लिभरपुल कारबाओ कपको फाइनलमा
लिभरपुल कारबाओ कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा डिएगो जोटा चम्किएपछि आर्सनलमाथि २–०को जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश गरेको हो।
घरेलु मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बिहीबार राति आर्सनलको मैदानमा भएको खेल जितपछि समग्रमा २-० को जितसहित लिभरपुल फाइनल पुगेको हो ।
लिभरपुलले अब उपाधिका लागि फेब्रुअरी २७ मा चेल्सीसँग वेम्बलीमा फाइनल खेल्नेछ ।
लिभरपुलको जितमा जोटाले खेलको दुवै हाफमा गोल गरे । अफ्रिकन अफ नेसन्स खेल्न गएकाले मोहम्मद सालाह र साडियो माने टिममा नभए पनि पोर्चुगलका जोटाले उत्कृष्ट प्रदर्शन गरे । जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । दुवै गोलका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले सहयोग गरे ।
खेलको ९० औं मिनेटमा आर्सनलका थोमस पार्टे रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।