
सिटीलाई हराउँदै लिभरपुल एफए कपको फाइनलमा
लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको सेमिफाइनलमा लिग लिडर म्यान्चेस्टर सिटीमाथि ३–२को जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश गरेको हो।
लिभरपुलको जितमा साडियो मानेको दुई गोल गरे भने इब्राहिम कोनाटेले एक गोल गरे । यता, सिटीका ज्याक ग्रेलिस र बर्नार्डो सिल्भाले गोल गरे।
वेम्बलीमा नवौं मिनेटमै कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए। उनले एन्डी रोबट्सनको पासमा गोल गरेका थिए। १७औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए।
४५औं मिनेटमा थिएगो अल्कान्टाराको पासमा मानेले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता लियो। दोस्रो हाफको सुरुआतमै सिटीले गोल गर्दै खेलमा फर्कने प्रयास गर्यो । उसका ज्याक ग्रेलिसले गोल गरेका थिए । अतिरिक्त समयमा सिल्भाले गोल गरे पनि सिटी फाइनल पुग्न असफल भयो।
अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ ।